काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गत वर्ष जाजरकोट र बझाङ गएको भूकम्पपछिको पुनः निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने विषय सरकारको प्राथमिकतामा परेको बताएका छन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले भूकम्पपछिको राहत र पुनः स्थापनाका लागि विभिन्न निकायबाट रकम निकासा भएकाले सरकारले केही कानुनी प्रबन्धहरू बनाएर अघि बढिरहेको जानकारी दिएका छन् ।
‘जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पहिचान भएका ८५ हजार छ सय ९० लाभग्राहीका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा गत कात्तिक १९ गतेको कार्यकारी प्रमुख स्तरीय निर्णय बमोजिम रुकुम पश्चिम र जाजरकोट जिल्लामा समान पाँच करोडसहित तीन अर्ब १६ करोड निकासा भएको छ,’ गृहमन्त्री लेखकले ।
‘जिल्ला विपद् व्यवस्थापन समितिबाट रु दुई अर्ब २५ करोड पाँच लाख २५ हजार स्थानीय विपद् व्यवस्थापन समितिको कोषमा निकासा भएको छ ।
गत वैशाख २१ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२औँ बैठकले ‘विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनः निर्माण तथा पुनः स्थापना अनुदान कार्यविधि, २०८१’ संशोधन गर्न अर्थ मन्त्रालयमा सहमतिका लागि पठाइएकोमा त्यसको सहमति प्राप्त भएको गृहमन्त्री लेखकले बताए।
पहिचान भएका लाभग्राहीमध्ये नौ हजार पाँच सय ८४ का लागि जिल्ला विपद् व्यवस्थापन समितिबाट २३ करोड ९६ लाख निकासा भएको मन्त्री लेखकले जानकारी दिए। उनका अनुसार बझाङका एक हजार दुई सय ५५ लाभग्राहीले तीन करोड १३ लाख ७५ हजार दोस्रो किस्ताबापत प्राप्त गरिसकेका छन्। अन्य जिल्लामा दोस्रो किस्ताबापतको रकम वितरण भएको प्रतिवेदन आउने क्रममा रहेको गृहमन्त्री लेखकले जनाए।
अस्थायी आवास निर्माणका लागि करिब रु ९० करोड ९४ लाख ७५ हजार जाजरकोट, रुकुम पश्चिम, सल्यान, बझाङ र बाजुराका जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिको कोषमा मौज्दात रहेको लेखकले जानकारी दिए। भूकम्पपछिको पुनः निर्माणसँग सम्बन्धित कामलाई प्रभावकारी रूपमा अघि बढाउन विभिन्न कानुनी व्यवस्था गरिएको उनले उल्लेख गरे।


































