काठमाडौं। कोरोना महामारीपछि मुलुकको पर्यटन क्षेत्र पुनः चलायमान बन्दै गएको छ। विदेशी पर्यटक आगमनका हिसाबले हेर्दा सन् २०२४ को अन्त्यसम्म कोरोना महामारीभन्दा अघि अर्थात् २०१९ को अवस्थामा पुग्ने संकेत देखिएको छ । जसरी पर्यटन क्षेत्र चलायमान बन्दै गएको छ, त्यसैगरी पर्यटन क्षेत्रको प्रमुख आधार होटेल क्षेत्रमा पनि लगानी बढेको छ । कुनै समय विदेशी पर्यटकका भरमा सञ्चालित पर्यटक स्तरीय होटेलमा पछिल्लो समय आन्तरिक पर्यटकको उपस्थिति बलियो बन्दै गएको छ ।
पर्यटन क्षेत्र चलायमान हुनुको पछाडि होटेलले दिने सेवा तथा सुविधा पनि पर्छ । त्यसमा चेन होटेलहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । नेपालमा पनि चेन होटेलले पर्यटन क्षेत्रमा विशेष भूमिका निर्वाह गरेको देखिन्छ । नेपालको पहिलो पाँचतारे होटेल सोल्टीदेखि ह्यात रिजेन्सीसम्म आउँदा होस् वा पछिल्लो समय मेरियट र हिल्टन होटेल सञ्चालनमा आउँदा पनि चेन होटेलको महत्त्व कम भएको छैन । तारागाउँमा सञ्चालित ह्यात रिजेन्सी होटेल स्थापना हुनुुअघि सरकारले तयार पारेको गुरुयोजनामै अन्तर्राष्ट्रिय स्तरका चेन होटेलको परिकल्पना गरिएको थियो । यो अवधारणा पर्यटक बढाउनकै लागि थियो भन्न सकिन्छ ।
अन्तर्राष्ट्रिय चेन होटेलको दबदबाबीच पनि नेपालमा पछिल्लो समय स्वदेशी चेन हस्पिटालिटीको प्रभाव बढ्दो छ । यस्ता चेन होटेलमा पनि ग्राहकको विश्वास बढ्दो छ । अन्तर्र्राष्ट्रिय चेन होटेलले जस्तै स्वदेशी चेन होटेलहरूको गुणस्तरीय सेवा तथा सुविधा, सेवाप्रतिको प्रतिबद्धताकै कारण ग्राहकको विश्वसनीयता बढेको हो भन्न सकिन्छ ।
नेपालमा चेन होटेलको विकास
अहिले केटीएम, सोल्टी र बाराहीलगायत ब्रान्डले पनि आफूलाई चेन हस्पिटालिटीका रूपमा अगाडि बढाउन प्रयासरत छन्। यी कम्पनीले अहिले विभिन्न स्थानमा विभिन्न वर्गका होटेल सञ्चालनमा ल्याई चेनको अवधारणामा काम सुरु गरेको देखिन्छ । सोल्टी होटेलले लामो समयसम्म विदेशी कम्पनीसँग काम गरेको हो । आफैंले सुरुवात गरेको होइन । यद्यपि अहिले चेन होटेलको अवधारणमा आफूलाई विस्तार गर्ने प्रयासरत छ ।
सिद्धार्थ हस्पिटालिटी पनि सुरुवाती दिनमा चेन अवधारणामा खोलिएको होइन । तर, पछिल्लो एक दशकयता चेन अवधारणामा अगाडि बढाइएको छ । यसका लागि हामीले आफ्नै आन्तरिक नीति बनाएका छौं । यस क्षेत्रमा एक दशकभन्दा लामो समयदेखि अध्ययन, अनुसन्धानको काम पनि गरिरहेका छौं । सुरुमा धेरै नीतिगत समस्या आए । सिद्धार्थले आफ्नै होटेल सञ्चालन गर्नु र अरूको होटेल सिद्धार्थका नाममा व्यवस्थापन तथा सञ्चालन गर्नु निःतान्त बेग्लै विषय हुन् । त्यसैले सुरुवाती दिनमा हामीलाई चेन होटेलका रूपमा आफूलाई विकास गर्न नीतिगत स्पष्टता जरुरी थियो। त्यसका लागि हामीले लामो समय खर्चिएका पनि छौं ।
सोल्टीलगायत होटेलले सुरुमा विदेशीसँग काम गरे पनि चेन होटेलको अवधारणामा काम सुरु गरेको धेरै भएको छैन । नेपालका अन्य होटेलहरूले पनि चेनमा आधारित काम निकै ढिलो सुरु गरेका हुन् । सिद्धार्थले अन्तर्राष्ट्रिय चेन होटेलसँगको प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गर्दै आएको छ । गुणस्तरीय सेवा र सुविधामा एकरूपता ल्याउनु सबैभन्दा चुनौतीपूर्ण काम हो । सिद्धार्थ चेन हस्पिटालिटीका रूपमा आफूलाई बलियो गरी स्थापित गर्न सफल भएको छ । सिद्धार्थले अहिले पनि चेन होटेलको अवधारणा बुझेका र विदेशी चेन होटेलमा काम गरिसकेका नेपालीहरूलाई काम दिएको छ । यसबाट उहाँहरूले विदेशमा सिकेको सीपलाई नेपालमा प्रयोग गर्न सम्भव भइरहेको छ ।
ब्रान्डप्रतिको विश्सनीयता
चेन हस्पिटालिटीको सबैभन्दा राम्रो पक्ष भनेको विश्वसनीयता हो । विश्वसनीयता कायम राख्न सकियो भने त्यसअन्तर्गतका होटेलमा अकुपेन्सीको समस्या हुँदैन । आज विदेशबाट आउने पर्यटकहरू पनि कुन होटेलमा बस्ने भन्ने निर्णय यसैका आधारमा लिन्छन् । किनभने उनीहरूलाई त्यो ब्रान्डप्रति विश्वास हुन्छ । नेपालमा पनि अहिले ब्रान्डप्रति सचेत हुने र सोहीअनुसारको सेवा खोज्नेहरू बढेका छन् । सिद्धार्थकै हकमा पनि यो लागु भएको हामीले पाएका छौं । सिद्धार्थमा विश्वास गर्ने ग्राहकहरू सिद्धार्थअन्तर्गतकै होटेल, रिसोर्ट तथा क्याफेमा पुगेको देखिन्छ । सिद्धार्थमा स्वदेशी मात्रै होइन विदेशी पर्यटकको पनि आकर्षण बढ्दो छ ।
ओटीए प्लेटफर्मममा पनि स्वदेशी चेन होटेलहरूको राम्रो प्रतिक्रिया आइरहेको देखिन्छ । अन्तर्राष्ट्रिय चेन होटेलहरूले मूल्यमा कडाइ गर्छन् भने स्वदेशी चेन होटेलहरू अलिकति लचक हुन्छन् । तर सेवा–सुविधाका हिसाबले आजका दिनमा स्वदेशी चेन होटेलहरू स्तरअनुसारको सेवा दिन अन्तर्राष्ट्रिय चेन होटेलसँग प्रतिस्पर्धा गर्ने भइसकेका छन् ।
सिद्धार्थको यात्रा
सिद्धार्थ हस्पिटालिटीअन्तर्गत हाल पाँचतारे स्तरमा सिद्धार्थ भिलासा सञ्चालनमा छ भने सिद्धार्थ वैभव चारतारे स्तरको होटेलका रूपमा छ । सिद्धार्थ वाटिका तीनतारे होटेलका रूपमा मात्र नभएर प्रिमियम ब्रान्डका रूपमा सञ्चालित छ । प्रिमियम ब्रान्डले तीनतारे र चारतारे स्तरका होटेलबीचको सेवा दिनेछ । कम्पनीले आगामी दिनमा बजेट होटेलका रूपमा एस होटेल सञ्चालनको तयारी गरिरहेको छ । तर, सेवा–सुविधाका हिसाबले अन्य होटेलको तुलनामा राम्रो र स्तरीय बनाउने योजना छ । यस ब्रान्डमा सिद्धार्थ कटेज र एस क्याफे पनि सञ्चालनमा छन् । कटेजमा परिवारसँग कुनै कार्यक्रम आयोजना गर्न, खान र रमाइलो गर्न सकिने सुविधा छ भने क्याफेमा सिद्धार्थले उत्पादन गरेका अरेबिका कफी, बेकरीका साथै फास्डफुड उपलब्ध छन् ।
सिद्धार्थ अन्य क्षेत्रमा पनि
त्यस्तै, सबै सामान एकै ठाउँमा उपलब्ध गराउने प्रयास स्वरूप सिद्धार्थ हस्पिटालिटी मार्ट पनि सञ्चालनमा छ । यसले स्थानीय उत्पादनलाई प्रवर्धन मात्र गरेको छैन होटेल सञ्चालनलाई थप सहज बनाएको छ । सिद्धार्थले भारतीय पर्यटकलाई नेपाली आकाशबाट चीनमा रहेको कैलाश पर्वतको दर्शनसमेत गराउँदै आएको छ । कोरोना महामारीअघि भारतीय पर्यटकहरू नेपालगन्ज हुँदै पदमार्गबाट कैलाश पर्वतको दर्शन गर्न जान्थे । तर कोरोनापछि भारतीय पर्यटक चीनमा जान नसक्ने अवस्था भयो । पर्यटक नआएपछि नेपालगन्जका होटेल समस्यामा पर्न थालिसकेका थिए । यस्तो अवस्थामा हामीले नेपाली आकाशबाट कैलाश मानसरोवर दर्शन गराउन थालेपछि नेपालगन्जमा भारतीय पर्यटक बढेका छन् ।
पहिले कैलाश जाने यात्रुका कारण जेठ, असारदेखि असोजसम्म नेपालगन्जमा भारतीय पर्यटकको चहलपहल हुने गरेकामा अहिले बाह्रैमहिना आउन थालेका छन् । यसले नेपालगन्जको अर्थतन्त्रमा पनि ठुलो राहत मिलेको छ । कैलाश पर्वत जान मात्रै पछिल्लो एक वर्षमा तीन हजारभन्दा बढी भारतीय पर्यटक नेपालगन्ज आएका छन् । त्यसका लागि भारतीय एक पर्यटकले ६० हजार रुपैयाँसम्म खर्च गर्ने गरेका छन् । यहाँबाट बर्दिया, पोखरा, काठमाडौं, मुक्तिनाथ, चितवनलगायत स्थानमा पनि ती पर्यटक जाने भएकाले नेपालको पर्यटन क्षेत्रमा महत्त्वपूर्ण भूमिका निभाएको छ भन्न सकिन्छ । त्यस्तै, सिद्धार्थले मुलुकको पर्यटन प्रवर्धनका लागि भारतबाट भ्लगरहरू ल्याएर प्रचारप्रसार गराइरहेको छ । त्यसबाहेक सिद्धार्थले सदगुरु, विभिन्न भारतीय सेलिब्रेटी तथा राजनीतिज्ञलाई ल्याएर समय–समयमा पर्यटन प्रवर्धन गरिरहेको छ ।
कर्मचारीलाई मालिक बनाउने अभियान
लगानी गरेपछि नीतिगत तहमा काम गरेर कम्पनी सञ्चालनको ढाँचा स्तरीय बनाउन सकिन्छ । हामीले सुरु गर्न लागेको एस होटेल र एस क्याफेमा यो अवधारणा पूर्णरूपमा लागु गर्ने तयारीमा छौं । एसमा कर्मचारीहरूको लगानी स्थापित भएपछि अन्य ब्रान्डमा पनि लागु हुँदै जानेछ । सिद्धार्थमा लगानी गर्न सुरुमा सम्पत्तिको स्रोत हेरिन्छ । त्यसपछि लगानी गर्नुको उद्देश्य र मनसाय । कम्पनीमा लगानी गर्न सहयोगी भावना चाहिन्छ । हामीकहाँ कर्मचारीका रूपमा लगानी गर्ने हो भने कर्मचारीले जागिर छाड््दा लगानी पनि फिर्ता लैजान पाउँछ र नयाँ आउने कर्मचारीले फेरि लगानी गर्न पाउँछ । अहिले पनि यहाँ कमाउँदै लगानी गर्नेहरूको संख्या ठुलो छ ।
चुनौती
कृष्ण न्यौपाने (प्रमुख कार्यकारी अधिकृत, सिद्धार्थ ग्रुप)
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को अर्थचित्रमा प्रकाशित लेख !



































