काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हुँदा रमाउनेहरूले नै लोडसेडिङको हल्ला फैलाएको बताए ।
नेपाल पूर्वाधार पत्रकार संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै घिसिङले प्राविधिक कारणले केही दिनका लागि पिक समयमा लोड व्यवस्थापन गर्दा लोडसेडिङको हल्ला फिँजाएको जनाएका छन् ।
अहिले अपर तामाकोशी क्षतिग्रस्त भएर मर्मत भइरहेको र काली गण्डकी समेत नियमित मर्मतका कारण उत्पादन रोकिएका कारण लोड व्यवस्थापन गर्न पिक समयको २/३ घण्टा उद्योग नचलाइदिनुस् भनेको हो। घिसिङले भने ।
उनले उद्योगीले सामान्य समयमा पनि दैनिक १६/१७ घण्टा भन्दा बढी उद्योग नचल्ने गरेको बताउँदै २/३ घण्टा बिजुली नपाउँदा समस्या हुने अवस्था नरहेको स्पष्ट पारे। उनले अबको १० दिनभित्र अपर तामाकोशी आउने र काली गण्डकी पनि छिटै सञ्चालनमा आउने भएकोले अहिलेको समस्या लोडसेडिङ नभएर व्यवस्थापनको अल्पकालीन समस्या मात्रै भएको बताए ।
घिसिङले अहिले सरकार धेरै लगानी गर्न सक्ने अवस्थामा नरहेको र बजेट दिइएका आयोजनामा समेत भुक्तानीको समस्या रहेको भन्दै आयोजनाको प्राथमिकीकरण गर्नुपर्नेमा जोड रहेको स्पष्ट पारेका छन् ।



































