काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले भारतबाट साढे ६ सय मेगावाट विद्युत् आयात गर्ने जनाएका छन् ।
नेपाल भित्रको आन्तरिक विद्युत् आपूर्तिलाई सहज बनाउनका लागि भारतसँग साढे ६ सय मेगावाट विद्युत् खरिद गर्न लागिएको मन्त्री खड्काले बताए। मन्त्री खड्काले हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन भारतसँग साढे ६ सय मेगावाट विद्युत् आयात गर्ने सहमति भएको र सोही अनुरूप पुस महिनादेखि नै खरिद गरिने उनको भनाई छ ।
उनले गत वर्षको बाढीले जलविद्युत आयोजनाहरूमा धेरै क्षति भएर उत्पादनमा देखिएको कमीको कारण लोडसेडिङ हुन नदिन उक्त सहमति भएको बताए।
मन्त्री खड्काले गत वर्षको भन्दा साढे ३ सय मेगावाट जति यस वर्ष उत्पादन थप हुने र हिउँदमा ४० प्रतिशत उत्पादन हुने भएकाले पिक आवरमा समस्या पर्ने हुँदा सकेसम्म लोडसेडिङ हुन नदिने योजनाका साथ कार्यतालिका बनाएको बताए।


































