काठमाडौं । प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गरेको छ। बेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो ।
बैंक अफ दि इयर’ अवार्डलाई बैंकिङ उत्कृष्टताको मानक अर्थात् ‘बैंकिङ उद्योगको ओस्कार’ मानिन्छ । सन् २००० देखि ‘दि बैंकर’ले गर्दै आएको ‘बैंक अफ दि इयर’ अवार्ड विश्वव्यापी बैंकिङमा सबैभन्दा प्रतिष्ठित अवार्ड हो ।
पत्रिकाले २४ वर्षदेखि विश्वभरका १२० भन्दा बढी राष्ट्रका एक हजारभन्दा बढी बैंकमध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनोट गरी ‘बैंक अफ दि इयर’ बाट वर्षैपिच्छे सम्मानित गर्दै आएको छ ।
“विश्व अर्थतन्त्र चौतर्फी मन्दीको मारमा रहे पनि प्रभु बैंक नयाँ बजार र ग्राहकहरूको व्यवसायको विकास गर्न चुनौतीहरूको सामना गर्दै आइरहेको छ ।” प्रभु बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
“अधिक नागरिकलाई वित्तीय सेवा पु¥याएको प्रतिस्पर्धी बैंकका बीचमा विकसित व्यावसायिक वातावरण बनाउन र बलियो वित्तीय कार्यसम्पादन गर्ने क्षमताको मूल्यांकन मापपदण्डका आधारमा अवार्डबाट सम्मानित भएको हो।” प्रभु बैंकले पहिलो पटक यो अवार्ड प्राप्त गरेको हो।
बेलायतमा भएको समारोहमा प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौला, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओे) अशोक शेरचनले सम्मान ग्रहण गरेका थिए । अवार्ड वितरण समारोहमा १२० भन्दा वढी देशका ३५० भन्दा बढी बैंकका अध्यक्ष, सीईओ, सीएफओ र अन्य वरिष्ठ प्रबन्धकको सहभागिता थियो।
सम्मान पछि बैंकका अध्यक्ष सिटौलाले नेपालको बैंकिङ प्रणालीको सफलतामा एउटा इँटा थप्न सफल भएको बताएका थिए। यस्तै सीईओ शेरचनले बैंकले प्राप्त गरेको सम्मान संस्था, सेयरधनी, कर्मचारी, सेवाग्राही तथा शुभचिन्तकका लागि मात्रै नभएर नेपालको बैंकिङ क्षेत्रकै सफलताको रुपमा दाबी गरेका थिए ।


































