काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सरोकारवालाको ध्यानाकर्षण गराएका छन्।
भैरहवामा आज देखि सञ्चालन भएको छैटौँ लुम्बिनी प्रादेशिक महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष मल्लले विमानस्थल सञ्चालनमा आउन नसक्दा निजी क्षेत्रको अर्वौ रुपैयाँ लगानी जोखिममा परेको बताएका छन् ।
उनले भने, ‘विमानस्थल निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन सकेको छैन, अहिले निजी क्षेत्रको मात्र हैन सरकारकै लगानी पनि जोखिममा परेको छ ।’
विमानस्थल सञ्चालनसँगै लुम्बिनीलाई गौतमवुद्ध जन्मस्थलको रुपमा अन्तर्राष्ट्रिय पर्यटकको आकर्षण केन्द्र बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।
भैरहवा सेजमा उद्यमी व्यवसायीको सहभागिता गराउनका लागि विभिन्न नीतिगत समस्याहरू रहेको भनाई राख्दै मल्लले भैरहवा सेजमा साना तथा मझौला उद्यमी एवं घरेलु उत्पादनहरूको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
मुलुककै सबैभन्दा धेरै राजश्व सङ्कलन गर्ने भन्सार नाका मध्ये रुपन्देही पनि एउटा भएको भन्दै उनले खुला सीमाको फाइदा उठाएर हुने अवैध व्यापारलाई भने नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् ।
































