काठमाडौँ । मौद्रिक नीति र बजेटमार्फत पुँजी बजार अनुकूल बनाउने विभिन्न कदमहरू सफल भए पनि शेयर बजारको गतिमा भने सुधार आउन सकेको छैन । पछिल्ला समय शेयर बजारमा सुधारको प्रतीक्षा गरिरहेका लगानीकर्तामा थप निराशा बढिरहेको छ ।
शेयर बजार घट्नुको साथै, कारोबार रकम खुम्चिरहेको छ, सूचक स्थिर र लगानीकर्ता लगानी गर्ने हिचकिचाएका छन् । बजार लामो समयदेखि साइडवेज ट्रेन्डमै अल्झिएको छ ।
केही समय अघि मात्रै केन्द्रीय बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत शेयर धितो कर्जामा लगाइएको जोखिम भार घटाएको छ। यसअघि लामो समयदेखि लगानीकर्ताहरूले बजारको वृद्धिमा बाधकको रूपमा देख्दै आएको उक्त व्यवस्थामा सहजता ल्याइए पनि यसले बजारमा अपेक्षित सकारात्मक प्रभाव पार्न सकेको छैन।
बजारमा अहिले कुनै प्यानिक सेल देखिएको छैन । साताभर भएको चार कारोबार मध्ये तीन दिन लगातार बजारमा गिरावट आएको छ । अघिल्लो साता नेप्से परिसूचक २,६९३.०६ अंकमा बन्द भएको थियो भने यो साता अन्त्यमा घट्दै २,६४०.९६ अंकमा झरेको छ। यो साताभर ५२.१० अंकको गिरावट आएको बजारले लगानीकर्तालाई थप निराश बनाएको छ । यसरी बजार किन लगातार रूपमा घटेको छ । बजारमा गिरावट पछिको मुख्य कारण के हो भनेर हामीले शेयर लगानीकर्ता तारा प्रसाद फुल्लेललाई सोधेका छौ । प्रस्तुत छ फुल्लेलको धारणा ।
अहिलेको परिप्रेक्ष्यमा नेपालको शेयर बजार घट्नु पर्ने कुनै ठोस आर्थिक वा राजनीतिक कारण छैन । कुनै ठूलो आर्थिक संकट, बैंकिङ क्षेत्रको अस्थिरता वा विदेशी लगानीमा उल्लेखनीय गिरावट आएको छैन ।
महँगाई नियन्त्रणमा रहेको देखिन्छ र बैंक ब्याजदरहरूमा पनि कमी आउनुको साथै सन्तुलनमा देखिन्छ अनि तरलता प्रशस्त छ ! सरकार र नेपाल राष्ट्र बैंकबाट क्रमशः नीतिगत सुधारका निर्णय आउँदै छन् जसले शेयर बजारमा नकारात्मक प्रभाव नपर्नु पर्ने हो ।
गिरावटको स्पष्ट कारण नदेखिँदा अफवाह फैलिन्छ । बजार बिना कारण तल जान थाल्छ, लगानीकर्तामा शंका उत्पन्न हुन्छ, यसले अफवाहलाई मलजल हुन्छ। सामाजिक सञ्जालको भूमिका बजारमा भय सिर्जना गर्ने समाचार वा अनुमानले धेरै पटक बजारको मुड बिगार्ने गर्छ । सामाजिक सञ्जालमा आएका भ्रमपूर्ण विश्लेषणले लगानीकर्ताको मनोबल घटाउँछ ।
जब सामान्य लगानीकर्ताले अन्य लगानीकर्ताले सेयर बेचिरहेको देख्छन्, उनीहरूले पनि नबुझी बेच्न थाल्छन्—यसले बजारलाई अस्वाभाविक रूपमा तल धकेल्न सहयोग गर्छ ।
यसकारण समग्रमा हालको बजार गिरावट कुनै ठोस आधारमा नभई मनोवैज्ञानिक दबाब, अफवाह र अल्पकालीन डरको परिणाम हो । यस्तो अवस्थामा दीर्घकालीन लगानी दृष्टिकोण राख्नेहरूका लागि अवसर पनि हुन सक्छ

































