काठमाडौँ। राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली बिल र स्टिकरको अनुगमन गर्न निर्देशन दिएका छन्।
आज सिंहदरबारमा आयोजित राजस्व वृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूलाई प्रधानमन्त्रीले उक्त विषय अनुगमन गर्न निर्देशन दिएका हुन्।
प्रधानमन्त्रीले भने, ‘राजस्व चुहावट र अवैध व्यापारिक कारोबारमा हुने सेटिङ भत्काउने कार्यलाई प्राथमिकता दिनुहोस् । झुटो तथा नक्कली बिल बिजक र स्टिकरको प्रयोग भइरहेको सूचना आएको छ ।
उनले भने, ‘मुलुक समृद्धिको बाधकका रूपमा रहेको भ्रष्टाचार, तस्करी र राजस्व छलीलाई निर्ममतापूर्वक हटाउनै पर्छ । जनतामा पैदा गरिएको निराशालाई चिनु पर्दछ । यसका लागि परम्परागत प्रशासनिक कार्यशैली, व्यवहार र चिन्तनबाट सम्भव छैन । नयाँ सोचसहित अगाडि बढौँ ।’
प्रधानमन्त्रीले नयाँ गतिका साथ काम गर्ने अठोट लिएर सरकार पुनर्गठन गरिएको बताउँदै सोहीअनुरूप क्रियाशील हुन निर्देशन दिए । आन्तरिक बजारलाई व्यवस्थित तुल्याउँदै बिल लिनदिने प्रणाली प्रभावकारी बनाउनसमेत प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।
‘आन्तरिक बजारमा बिल लिनदिने प्रणाली प्रभावकारी भएको छैन। कारोबारलाई आवश्यकताअनुसार प्रविधिमा रूपान्तरण गर्न सकिएको छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यस सम्बन्धमा सम्बन्धित राजस्व कार्यालयहरूले नियमित बजार अनुगमन गर्ने र सोको रिपोर्टिङ गर्ने व्यवस्था मिलाउनुहोस् ।'


































