काठमाडौँ । सरकारले विपद् प्रभावित क्षेत्रमा खोज, उद्धारका बाँकी कार्यहरूलाई निरन्तरता दिँदै मौसमजन्य विपद् प्रभावितहरूका लागि राहत वितरणको प्रक्रिया एक द्वार प्रणालीबाट सुरु गर्ने निर्णय गरेको छ।
गृहमन्त्री रमेश लेखकको नेतृत्वमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले राहत वितरणको प्रक्रियामा एक द्वार प्रणाली लागु गर्ने जानकारी दिएको छ ।
साथै, विपद्मा मृत्यु भएका व्यक्तिका परिवारलाई विपद् पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड २०७७ बमोजिम बेपत्ता भएका व्यक्तिका परिवारलाई गत असार ३१ गते मन्त्रिपरिषद्को निर्णय नं. (ख) बमोजिम राहत रकम उपलब्ध गराउने निर्णय पनि भएको छ ।
त्यस्तै, खोज, उद्धार, राहत कार्यलाई तीव्रता दिने, अस्थायी आवास निर्माण अनुदान उपलब्ध गराउने, सडक मर्मत गरी आवागमन सुचारु गर्ने, मानवीय सहायता परिचालनलगायतका निर्णय गरिएको छ ।



































