काठमाडौँ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूरा गर्नका लागि थप विद्युत् खरिद सम्झौता (पीपीए) खोल्न अत्यावश्यक रहेको बताएका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै निर्देशक घिसिङले प्राधिकरणले केही समयको लागि आरोआर र पिआरोआरका आयोजनाहरू पीपीएमा स्थगित भएपनि २८ हजार ५ सय मेगावटको लक्ष्य पूरा गर्न पीपीए फेरि खोल्नुपर्ने आवश्यकता खडा भएको बताएका छन् ।
उनले १२ हजार मेगावटको पीपीए सम्झौतामा हस्ताक्षर गरेपनि १२ हजारकै आयोजनाहरू आउन नसक्ने स्पष्ट पारेका छन्। बजारलाई बन्द गरेर मात्रै नयाँ आयोजनाहरू आउन सक्ने उनको भनाई छ।
घिसिङले ६० देखि ७० प्रतिशत पीपीए गरेका आयोजनाहरू आए त्यसले सरकारलाई ठुलो सहयोग पुग्ने बताए । निर्देशक घिसिङले २८ हजार मेगावटको पीपीएमा वैदेशिक लगानी,प्राधिकरणले गर्ने,रिजर्भर आयोजनाहरू र सोलार पनि समावेश गरिएको बताए । उनले सोलार उत्पादनको लागि प्राधिकरणले करिब ८ सय मेगावटको माग गर्दा ३६ सय मेगावटको प्रस्ताव आएको बताए ।
‘प्राधिकरणले केही समयको लागि आरोआर र पिआरोआरको प्रोजेक्टहरुको पीपीएमा केही स्थगन गरेको अवस्था हो । कोटा पूरा गरेर बसेका छौँ । २८ हजार ५ सय मेगावटको लक्ष्य खुला भएपछि पीपीएमा फेरि पनि खोल्नुपर्ने छ । हामी अगाडि बढाउँछौँ । बजारलाई बन्द गरेर बसेर आयोजनाहरू आउँदैन भन्ने अवस्था हेर्नुपर्छ’ उनले भने,’
उनले जलविद्युत क्षेत्रका समस्या समाधान गर्ने गरी नीतिहरूलाई सहजीकरण गर्ने तयारीमा प्राधिकरण लागेको बताए । उनले निजी क्षेत्र वा लगानीकर्तालाई मात्रै जोखिममा पार्ने नभई सरकारले पनि जोखिम बहन गर्ने गरी नीतिहरू परिमार्जन गर्न लागिएको बताए ।


































