काठमाडौं । वैशाख मसान्तभित्रै सहकारीको नियमन र अनुगमनलाई प्रभावकारी बनाउने खालको कानुनी खाका तयार हुने संघीय सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरेले बताए ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजना तथा एशियाली ऋण महासंघ (अकू) को प्राविधिक सहयोगमा नगरकोटमा सञ्चालित ३ दिने एक्सेस एडिटिङ सम्बन्धी तालिम समापनका कार्यक्रममा बोल्दै घिमिरेले यस्तो बताएका हुन ।
मन्त्रालयका तर्फबाट विज्ञहरूलाई जिम्मेवारी दिएका छौ, सहकारी क्षेत्रमा देखिएका समस्या छिटो तथा प्रभावकारी रूपले समाधानका लागि आवश्यक कानुन निर्माणको चरणमा छौ, वैशाख मसान्तभित्रै मस्यौदा आउदैछ,रजिस्ट्रार घिमिरेले भने , –मस्यौदा आएपछि सरोकारवालाहरुसंग छलफल तथा समन्वय गरी सुधार गरेर सहकारीका समस्या समाधानमा लाग्दै छौ ।
सहकारीबाट बचत फिर्ता नपाएकाहरूको रकम फिर्ता गर्न तथा सहकारीको ऋण असुलीका लागि समेत मन्त्रालयको तर्फबाट गम्भीरताका साथ छलफल गरी प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ ।
सहकारी क्षेत्रको प्रवर्द्धनका लागि सहकारी बैंकले विभागलाई सहयोग पुग्ने गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको चर्चा गर्दै सहकारीको समस्या समाधानमा सबै पक्षको सकारात्मक र रचनात्मक सहयोगको अपेक्षा गरेको घिमिरेको भनाई छ ।



































