काठमाडौँ। सरकारले सहकारी ठगहरूको पक्षमा वकालत गरिरहेको नेपाली काँग्रेसले आरोप लगाएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा काँग्रेस सांसद प्रतिमा गौतमले सरकारले सहकारी ठगहरूको पक्षमा वकालत गरिरहेको बताएकी छिन् ।
सांसद गौतमले भनिन् ‘सरकार अहिले सहकारी पीडितलाई न्याय दिने कुरामा भन्दा उनीहरूलाई न घरको न घाटको बनाउने सहकारी ठगहरूको पक्षमा वकालत गर्ने, फैसला सुनाउन उद्धत भएको देखिन्छ ।,उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा परेको उजुरीमाथि छानबिन नगरी बचाउमा उत्रिएको उनको आशय छ ।
‘प्रधानमन्त्रीज्यू यही संसद्मा आएर गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको कानुनी हिसाबले मुद्दा गर्न अयोग्य भएको फैसला गर्नुहुन्छ, मानौँ वारिङ मेसिनमा राखेर सफाचट पारेर निकालेको जस्तो गरेर यहाँ बोल्नुहुन्छ,’ उनले भनिन्, ‘आरोपित गृहमन्त्री आफू विरुद्ध परेको उजुरीलाई चिर्कटोको संज्ञा दिनुहुन्छ। दुःख लाग्छ, उजुरी त कागजमै लेख्ने होला नि, कि ताम्रपत्र, स्वर्ण पत्रमा लेख्ने चलन भए त्यो पनि हामीलाई भने हुन्थ्यो नि।’
संसद्, सडक र सामाजिकमा सहकारी ठगीको विषय चर्चामा रहेको भन्दै यस विरुद्ध प्रश्न उठाउनुपर्ने उनको भनाई छ । दुःख गरेर जम्मा गरेको पैसा केही फटाहहरुले आँखै अगाडि ठगेर सहकारी नै टाट पल्टाएर हिँडेका छन् । सरकार नागरिकको त्यो पीडा देखिरहेको छैन । सत्ता सहकार्य दलका अध्यक्ष गृहमन्त्रीलाई गुमाउनुपर्छ कि भन्ने मानसिक पीडामा रहेको देखियो । उनले भनिन् ।
‘विगतमा पनि संसदीय छानबिन समिति बनेको धेरै उदाहरण छन् । सबैले प्रमाण छैन भन्दै आउनु भएको छ । तर, यहाँ गम्भीर आरोप लागेको छ । आरोपलाई अनुसन्धान नभईकन खारेज गर्न हुँदैन । छानबिन समिति बनाऊँ भन्दा किन पसिना आयो रु किन डर त्रास भयो ?,’ उनको प्रश्न छ ।

































