काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारी जग्गा हडप्ने र सहकारीमार्फत ठगी गर्ने जोसुकै र जतिसुकै शक्तिशाली भए पनि दण्डित हुनुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने क्रममा थापाले गलत गर्नेहरु जो सुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । जो सुकै होस्, जतिसुकै शक्तिशाली होस्, राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति होस् नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनुपर्दैन रु दण्ड पाउनु पर्दैन रु’ कांग्रेस महामन्त्री थापाले आक्रोश मिश्रीत भावमा प्रश्न गरे ।
नागरिकता किर्ते लगायतका विषयमा पनि शक्तिको दुरुपयोग हुन नहुने उनको भनाइ छ ।
जुनसुकै ताकत भएको होस् आम नागरिकले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीको धन्धा चलाउँछ, ठगीको धन्दाको मतियार हुन्छ भने कानुनी कारबाहीको दायरामा आउनु पर्दैन रु कानुनले कारबाही गर्नु पर्दैन रु’ महामन्त्री थापाले एक पछि अर्को प्रश्न उठाएका छन् ।
सुशासन कायम गर्न सरकारले गलत काम गर्नेको शक्ति र पदीय हैसिय हेर्न नहुने थापाले बताए । ‘चाहे जग्गा मिच्ने होस्, जग्गा हडप्ने होस्, चाहे नागरिकताको किर्ते गर्ने होस्, चाहे सहकारीमा ठग्ने होस् । यताको होस् कि उताको होस् जुनसुकै दलको होस् वा दल भन्दा बाहिरको होस्, जतिसुकै सक्तिशाली होस् कसैले पनि उन्मुक्ति पाउनुहुन्न’ उनले भने ।
सर्वसाधारण नागरिकले दण्ड पाउने हरेक अपराधमा शक्तिशालीहरुले पनि दण्ड भोग्नुपर्ने बताए । ‘‘नेपाल सरकारले यो बाटो समात्दै गयो भने बल्ल एउटा विश्वासको वातावरण बनाउन सक्छ’, महामन्त्री थापा थप्छन्, ‘राज्य भएको भरोसा दिलाउने, सुशासन सँगै राज्यको उपस्थिति दिलाउन विशिष्ठ प्रकरणहरुका सम्बन्धमा मेरो राज्यले, मेरो सरकारले के गरिरहेको छ भनेर नागरिक हेरिरहेको हुन्छ ।’
सुशासनको विषय बोलीमा नभइ व्यवहारमा देखिनुपर्ने र सुशासनका लागि काम भएको जनताले महसुस गर्नुपर्ने उनको भनाइ छ । ‘सरकारले सुशासनको सन्दर्भमा मैले काम गरेँ भनेर हुँदैन । सरकारले गरेको कामहरु नागरिकले महसुस गर्न पाउनुपर्छ । नागरिकले नजिकबाट नियालेर त्यो कुरा हेरेका हुन्छन्’, महामन्त्री थापाले भने ।


































