काठमाडौँ। अहिले अन्तर्राष्ट्रिय बजारमा मात्रै नभएर नेपाली बजारमा समेत पहेँलो धातु अर्थात् सुनको मूल्यले दैनिक रूपमा नयाँ रेकर्ड कायम गरिरहेको छ।
पछिल्लो केही महिनादेखि उकालो लागेको सुनको मूल्य आगामी दिनमा थप बढ्ने सङ्केत नेपाल सुनचाँदी व्यवसायी महासंघले गरेको छ । सामान्यतया दैनिक रूपमा हुने कारोबार मूल्यमा धेरथोरको घटबढ भएपनी समग्रमा भने सुनको मूल्यमा निरन्तर वृद्धि भएको महासंघको भनाई छ ।
सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै सुन आयातको कोटा प्रतिदिन २० किलोबाट १० किलोमा ०७८ फागुनबाट घटाएको थियो ।
एक किलोग्राममा भन्सार शुल्क करिब १२ लाख रुपैयाँ तिर्नुपर्छ । सामान्यतया सुन सबैले प्रयोग गर्न रुचाउने धातु हो । यसको मूल्य निरन्तर उकालो लाग्नुमा २०७६ सालमा फैलिएको कारोना महामारी र रुस र युक्रेनको युद्ध रहेको महासंघको दाबी छ । त्यसयता सुनको भाउ लगातार बढ्दै गइरहेको छ ।
अहिले चीनले तीव्र रूपमा सुनको माग गरेका कारण पनि सुनको मूल्य बढेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाई रहेका छन् । त्यस्तै, सुनको मूल्य अमेरिकी डलरको भाउसँग पनि सम्बन्धित रहँदै आएको छ यसले गर्दा विश्वमा अमेरिकी डलर कमजोर हुँदै गएको कारण पनि सुनको मूल्यमा वृद्धि हुँदै गएको अन्तर्राष्ट्रिय विश्लेषकहरूको तर्क छ ।
केन्द्रीय बैंकहरूले सुनलाई दीर्घकालीन मूल्यको भण्डार र आर्थिक र अन्तर्राष्ट्रिय उथलपुथलको समयमा पनि सुरक्षित रहने हुनाले निकै महत्व दिने गरेका छन् । अहिले इजरायल र हमासको युद्धका कारण पनि सुनको मूल्यमा थप वृद्धि भएको महासंघ अध्यक्ष शाक्यको भनाई छ ।
आर्थिक भ्वाइससँग कुराकानी गर्दै नेपाल सुनचाँदी महासंघका अध्यक्ष मणिकरत्न शाक्यले पछिल्लो समयमा विश्वका विभिन्न मुलुकमा चलेको द्वन्द्व र अनिश्चितताले सुनको मूल्यमा अझै वृद्धि हुने गरेको बताएका छन् । सुनको भाउ अत्यधिक बढ्दै गएका कारण आन्तरिक बजारमा माग भने निकै खस्किएको व्यवसायीहरूको गुनासो छ । विवाहको मौसममा दैनिक रुपमा ३०–४० किलोग्राम सुनको व्यापार हुने गरेको भएपनी अहिले भने १५/२० किलोग्राम पनि नभएको व्यवसायीहरू बताउँछन्।
ग्राहकहरूले नयाँ सुन किनेर गहना बनाउनुको साटो पुरानोमार्फत नयाँ गहना बनाउने क्रम बढेको उनीहरू बताउँछन् । अघिल्ला वर्षहरूमा ४०/५० किलोग्रामसम्मको सुनको थियो भने अहिले २०/२५ हुन पनि गाह्रो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यको भनाई छ ।
सुनको भाउ महँगिएसँगै ग्राहकहरूले पुरानै सुनलाई नयाँ डिजाइनमा बनाएर लैजाने र सुन किन्न नमान्ने गरेको शाक्यले बताए । मानिसहरूसँग पैसा पनि छैन अनि सुनको भाउ दिनहुँ बढिरहेका कारण सुन किन्न नसकेको उनको भनाइ छ ।
साथै सुनको मूल्य बढ्नुको कारणहरू यर्थावत रहेको कारण तत्काल सुनचाँदीको मूल्यमा कमी आउने सम्भावना नभएको उनको भनाई छ । उनी भन्छन् 'मलाई सम्झना छ मैले आर्थिक भ्वाईससँगको कुराकानीकै क्रममा दशैभित्रै सुनको मूल्यले डेढ लाखमा पाइला टेक्छ भने त्यो समय नआउँदै त्यो रेकर्ड तोडेको छ । अब पनि झट्टै घट्ने सम्भावना देखिदैन् र अब बजारको अवस्था र सिजनको समयलाई हेर्दा फेरि यही रफ्तारमा बढ्ने अवस्थापनी छैन त्यसकारण मलाई लाग्छ दशैं तिहार आसपासमा सुनचाँदीको १ लाख ६० हजार क्रस गर्दै यस वर्षको अन्त्यमा पौने २ लाख हाराहारीमा पुग्ने लगभग पक्कापक्की छ' ।


































