काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले आर्थिक अवस्थामा लयमा फर्किन लागेको बताउँदै मन्दीका कारण बन्द भएका सटरहरु अब धमाधम खुल्ने बताएका छन् ।
कोभिड महाभारीले विश्व अर्थतन्त्रमा पारेको प्रभावबाट नेपाल पनि अछुत हुन नसकेको स्मरण गर्दै मन्त्री बस्नेतले भने “कोभिड महामारीले विश्व अर्थतन्त्रमा परेका दाबाबबाट नेपाल पनि अछुत रहेन । विस्तारै अर्थतन्त्र लयमा फर्किँदैछ । बन्द भएका सटरहरु अब बिस्तारै खुल्दैछन्” ।
नेपाल उद्योग व्यापार महासंघको दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नेपाल श्रीलंका बन्छ भन्ने हल्लाबीच वर्तमान सरकार बनेको बताउँदै अब त्यस्तो नरहेको समेत उल्लेख गरेका छन्। “नेपाली श्रीलंका बन्छ भन्ने हल्ला अब छैन, बिस्तारै देश बर्बादीतिर होइन समृद्धितिर अघि बढेको छ । चुनौती र दबाब भने अवश्य छन्” मन्त्री बस्नेतले भने ।
मन्त्री बस्नेतले १२ वर्षमा २९ हजार मेगावट विद्युत उत्पादन गरेर देशलाई समृद्धिको यात्रामा अघि बढाउन सरकार लागि परेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आफैँबाट सुशासनको अभियान सुरु गरेको बताउँदै मन्त्री बस्नेतले तथ्यहरुले देश प्रगतिको दिशातिर गएको देखाएको दाबी गरेका छन् ।
कार्यक्रममा पूर्वमुख्य सचिव लिलामणि पौडेलले देशलाई समृद्धिको यात्रामा लैजान सबै एकजट भएर लाग्नुपर्नेमा जोड दिए । व्यवसायी कृष्ण आचार्यले अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेको बताउँदै चुनौती अझै बाँकी रहेको बताउँदै सरकारले अझै मेहनत गर्नुपर्नेमा जोड दिए । उनले विकास निर्माणको लागि विद्युत उत्पादन अनिवार्य भएको बताउँदै सरकारी ऐन निकै झनझटिलो भएको बताएका हुन।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारका पछिल्ला कदमले अर्थतन्त्र लयमा फर्किने वातावरण बन्दै गएको बताए । उनले प्रधानमन्त्री प्रचण्डले एकवर्षको पुगेका अबसरमा गरेको घोषणाले निजी क्षेत्र उत्साहित बनेको बताउँदै अर्थतन्त्र चलायमान बनाउन विकास खर्च बढाउनुपर्नेमा जोड दिएका छन्


































