काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले कर्मचारीले कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका छन् ।
आज (बुधवार) भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री डा.महतले राजस्वको लक्ष्य भेटाउन कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्नका लागि निर्देशन दिएका हुन।
‘यो जिम्मेवारी जोकोहीले पाएको छैन, धेरै मान्छेहरू हाम्रो राज्य संयन्त्रको अंग हुन पाएका छैनन् । मेरो पनि त्यत्तिकै योग्यता थियो, हामीले पनि केही जिम्मेवारी पाए हुन्थ्यो भन्ने थुप्रै नागरिक छन् । प्राप्त जिम्मेवारीसँगै राज्यले दिएको तलब भत्ताबाट तपाईँहरू सन्तुष्टि हुनुपर्छ। मलाई यसले पुगेन, यो भन्दा मलाई ठुलो चाहिन्छ कसैले भन्छ भने उसले त्यो ठाउँ छोड्नुपर्छ । जिम्मेवारीबाट पन्छिने छुट कसैलाई छैन।’ मन्त्री डा.महतले भने ।
भैरहवा भन्सारलाई सशक्त नेतृत्व दिन, अन्य निकायसँग राम्रो समन्वय गर्ने, सुरक्षा निकायसँग निरन्तर समन्वय राखेर चोरी निकासी रोक्ने,छिटो भन्सारलाई सिस्टममा राख्न र जिम्मेवारीलाई उच्च सर्तकताका साथ निरन्तर खबरदारी गर्ने कर्मचारीलाई निर्देशन दिएका छन्।
‘कार्यरत कर्मचारीहरू एक वर्ष नभई सरुवा गर्न नमिल्ने भन्ने अहिले छैन, क्षमतामा प्रश्न उठ्यो भने जुनसुकै बेला पनि सरुवा हुनसक्छ’ मन्त्री डा.महतले भने, ‘यद्यपि कर्मचारीलाई मैले अविश्वास गर्न खोजेको होइन ।’
अहिले सहज भएको अवस्थाभन्दा कोभिडमा असहज भएका बेलामा भन्सार बढी उठेको विषयलाई व्याख्या गर्न नसकिने भन्दै डा. महतले भने, ‘गाडी आयात कम भयो भन्ने कुरा आएको छ, तर त्यो मात्र कारण हुन सक्दैन । त्यो कुरामा कर्मचारीले गम्भीर भएर ध्यान दिनुहोला ।’डा.महतले भने -‘चोरी पैठारी रोक्न भन्सार नाकामा खटिने सबै तहबिच एक अर्काको राम्रो समन्वय हुनुपर्छ ।’


































