काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटमार्फत दलित समुदायका लागि रोजगारी सृजना र जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न रकम विनियोजन भएको जनाएका छन् ।
आज बसेको राष्ट्रियसभाको बैठकमा सांसद भुवनबहादुर सुनारले चालु आव २०८१ /८२ को बजेट वक्तव्यमा दलित समुदायको रैथाने सीप, ज्ञान, पेसाको आधुनिकीकरण गर्न, रोजगारी सृजना गरी जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्नका लागि २० करोड रुपैयाँ विनियोजन भएकामा सोको कार्यान्वयन कुन निकायबाट कसरी भइरहेको छ ? भनी अर्थमन्त्री पौडेललाई प्रश्न गरेका थिए
सोही प्रश्नको जवाफमा अर्थमन्त्री पौडेलले दलितको हकका सम्बन्धमा संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै सोको कार्यान्वयन गर्न सरकारले वार्षिक बजेटमार्फत रकम विनियोजन गर्नुका साथै कार्यविधि बनाएर कार्यान्वयनको चरणमा गइसकेको र कार्यविधि तथा निर्देशिका तयार हुने क्रममा रहेको जानकारी दिएका छन् ।
‘संविधान प्रदत्त अधिकारको प्रत्याभूति गर्न दलित समुदायको सशक्तीकरण कार्य गर्ने संरचनालाई एकीकृत गरी दलित, उपेक्षित, उत्पीडित वर्ग उत्थान तथा विकास प्राधिकरणको संस्थागत व्यवस्था गर्ने सरकारको योजना छ’, अर्थमन्त्री पौडेलले भने, ‘दलित समुदायको रैथाने सीप, ज्ञान, पेसाको आधुनिकीकरण गरी रोजगारी सृजना गरी जीविकोपार्जनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न चालु आवमा २० करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।


































