काठमाडौँ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान कायम रहेको जनाएको छ।
आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकले सहकारी ठगीमा जोडिएका मन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनको विकल्प नभएको निष्कर्ष निकालेको छ।
काँग्रेसले सदनमा राखेको संसदीय छानबिन समिति गठनको माग यथावत् छ । स्मरण बनाउँदै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले मङ्गलवार संसदीय कार्यसमिति र दलको बैठक बस्ने बताएका छन् ।
कांग्रेसले सहकारी ठगीमा मन्त्रीहरूको संलग्नताबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कुरा सुनिसकेको भन्दै गृहमन्त्री लामिछानेको कुरा सुन्नुको कुनै अर्थ नभएको भनाई छ ।
‘कि नेपालमा दुई वटा सरकार छ भन्नुपर्यो । हामीले एउटा सरकारको कुरा सुनिसक्यौँ । प्रधानमन्त्रीजीले भनिसक्नु भयो । प्रधानमन्त्रीको कुरामा चित्त नबुझेर हामीले संसदीय छानबिन समिति माग्यौँ,’ प्रमुख सचेतक लेखक भन्छन्, ‘सबै मन्त्रीको पहिलो मन्त्री प्रधानमन्त्री हो । हामीले प्रधानमन्त्रीकै कुरा सुनिसकेकाले सहकारी ठगीमा अरू कसैको कुरा सन्दैनौं ।’
संसदीय छानबिन समिति गठनमा सरकारको धारणा अनुसार नयाँ रणनीति बनाएर अगाडि बढ्ने लेखकको भनाइ छ। उनका अनुसार संसदीय दलको बैठकले संसद्मा आएका महत्त्वपूर्ण विधेयकमाथि छलफल गरेर समान धारणा बनाउने छ।
त्यस्तै कांग्रेस बैठकले गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बन्नका लागी सभामुखको समेत हस्ताक्षर प्रयोग गरीनु असंवैधानिक कदम भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

































