काठमाडौँ । प्रहरीले मङ्गलवार बिहान बरामद गरेको २५ करोड नगद घटनाको निष्पक्ष छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसदले माग गरेका छन्।
बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले उक्त घटनाका बारेमा अनुसन्धान गर्न विशेष प्रकारको छानबिन समिति गठनको माग गरेका छन् ।
'गत सोमबार राति ११ बजे काठमाडौँको टोखा नगरपालिका २ झोरबाट नेपाल प्रहरीले अहिलेसम्मकै धेरै ठुलो अवैध रकम सहित एउटा गाडी बरामद गरेको छ।
'घटनाका बारेमा अनुसन्धान गर्न विशेष प्रकारको छानबिन समिति निर्माण गरियोस्। यो घटनमा संलग्न जोसुकै उच्च तहका नेता कर्मचारीहरू तिनलाई कानुनी दायरामा ल्याउनका लागि माग गर्दछु।' सापकोटाले भने , साथै यी र यस्ता घटनाको समाधान नखोज्ने हो भने फेरि अर्का आपराधिक घटना बढेर जाने उनको भनाई छ ।
अहिलेसम्म यस्ता प्रकृतिका घटनाहरूमा संलग्न भरिया र ड्राइभरहरू मात्र पक्राउ पर्ने र निश्चित समयपछि घटना ढिसमिस भएर जाने भन्दै उनले पुन: यस्ता घटना दोहोरिन नदिन गहिरो अनुसन्धान गरी दोषीमाथि कडा कारवाही हुनुपर्ने बताए।


































