काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोक्ने निर्णय गरेको छ ।
फर्जी आवेदनमा लगातार वृद्धि भएपछि नेपाल धितोपत्र बोर्डले इस्यु म्यानेजरलाई तत्काल आवदेन स्थगन गर्न पत्र पठाएको हो ।आईपीओमा १ करोड २० लाख कित्ता फर्जी आवेदन परेको देखिएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको थियो ।
घोराही सिमेन्टको आईपीओमा १ करोड २० लाख कित्ताभन्दा बढी फर्जी आवदेन परेको थियो ।
दिउँसो २ः३५ सम्ममा घोराहीको ६९ लाख ११ हजार ६७० कित्ता आईपीओका लागि ५ लाख ४४ हजार २४७ आवेदकले आवेदन दिएका थिए । रेटिङमा पनि समस्या देखिएको बोर्डले जनाएको छ । फर्जीमध्ये १० लाख कित्ता दरका ९ जनाले आवेदन दिएको ९० लाख कित्ता छ ।
फर्जी आवदेन परेको देखिए पछि सिडिएस एन्ड क्लियरिङ लिमिटेडले बैंक खातामा पैसा भएभन्दा बढीको आवेदन दिए कारबाही गर्ने सुचना जारि गरेको छ । धितोपत्रको सार्वजनिक निष्कासनमा झुटा आवेदन दिएको भेटिएपछि सिडिएससीले कारबाहीको चेतावनी दिएको हो ।
सीडीएससीले जारी गरेको सूचनामा भनिएको छ, ‘संगठित संस्थाले जारी गरेको सार्वजनिक निष्कासनमा आफ्नो बैंक खातामा मौज्दात नराखी वा खातामा मौज्दात रहेको भन्दा बढी रकमको आवेदन दिई संस्थाले जारी गरेको धितोपत्रको सार्वजनिक निष्कासनमा प्राप्त आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य गरेमा सो कार्य धितोपत्रसम्बन्धी ऐन २०६३ अनुसार झुटा एवं जालसाजीयुक्त कारोबार हुने भएकाले यस्ता कार्य गर्ने व्यक्ति वा संस्थालाई सो ऐनअनुसार कानुनी कारबाही हुने व्यहोरा जानकारी गराउँदै यस किसिमको कार्य नगर्न नगराउनुहुन सम्बन्धित सम्पूर्णलाई सूचित गराइन्छ ।’


































