काठमाण्डौं । गत साता २५९५.७४ विन्दुमा बन्द भएको नेप्से, यस साता ४.१७ प्रतिशत अर्थात् १०८.२२ अंक बढेर २७०३.९६ विन्दुमा पुगेको छ।
समग्रमा यस साता नेप्से परिसूचक ४ प्रतिशतभन्दा बढी बढेर बन्द भएको छ। यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये पाँचै कारोबार दिन नेप्से बढेर बन्द भएको छ।
यस साता सेन्सेटिभ इण्डेक्स २०.५६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ८.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.७८ अंक बढेको छ। यस नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ७ अर्ब २ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ७ अर्ब ९९ करोडको शेयर किनबेच भएको छ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि ४ प्रतिशतभन्दा बढी बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब २४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता १ खर्ब ८० अर्ब रुपैयाँ बढेर ४५ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ।
यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ८.५० प्रतिशत बढेको छ। अंकका आधारमा सर्वाधिक बढ्ने उपसमूह पनि यही हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक भने यस साता सबैभन्दा कम ०.८३ प्रतिशत बढेको छ। गत साता ४१३१.९२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ०.८३ प्रतिशत बढेर ४१६६.१३ विन्दुमा पुगेको छ।
यस साता नेप्सेमा युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको १ लाख ७७ हजार २४० कित्ता बोनस शेयर सूचीकृत भएको छ। यस साता राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य सर्वाधिक २६.२३ प्रतिशत बढेको छ।

































