काठमाडौं । हाल आइपीओ बिक्री खुला रहेको हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले पछिल्ला वर्षहरुमा शेयरधनीहरुलाई निकै राम्रो प्रतिफल वितरण गरेको देखिएको छ । यस कम्पनीले हालसम्म ११०.०३ प्रतिशत बोनस शेयर र ६६.१६ प्रतिशत नगद गरी कुल १७६.१९ प्रतिशत लाभांश वितरण गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०६५–६६ मा ५ प्रतिशत नगद लाभांश दिएको थियो । त्यसैगरी, आव २०७०–७१ मा ४५.८३ प्रतिशत बोनस शेयर र ६.१६ प्रतिशत नगद गरी कुल ५१.९९ प्रतिशत प्रतिफल वितरण गरेको देखिएको छ ।
त्यसैगरी, आर्थिक वर्ष २०७२–७३ र २०७७–७८ मा शेयरधनीलाई बोनस र नगद गरी क्रमशः ४० र ५५ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो आर्थिक वर्ष भने हाथवेले १० प्रतिशत नगद दिएको छ । यसको फेस भ्यालू ५० रुपैयाँ रहेकोले त्यसैलाई आधार मानेर यसले प्रतिफल वितरण गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको रिपोर्ट अनुसार यसको सञ्चति मुनाफा २७ करोड ९४ लाख ६ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमास अनुसार नेटवर्थ ८० रुपैयाँ ६३ पैसा र प्रतिशेयर आम्दानी १७ पैसा रहेको छ । चैतसम्म जगेडाकोषको आकार ६२ करोड ७१ लाख ९४ हजार रुपैयाँ छ ।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतका दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता शेयर निष्काशन गरेको हो ।
सोमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५०० कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ । यता, २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारी र ७३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ ।
कम्पनीको आइपीओमा न्यूनतम २० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० अंकको गुणाङ्कमा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
https://aarthikvoice.com/archives/11993


































