काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सेयर कारोबारमा १ प्रतिशत कर लाग्ने भन्ने विषयमा फैलिएको भ्रमप्रति ध्यानाकर्षण गराएका छन्। उनले सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै यस्तो हल्लाले लगानीकर्तामा अन्योल सिर्जना गरेको बताएका हुन्।
सांसद ढकालका अनुसार TMS/NEPSE प्रणालीमार्फत दोस्रो बजारमा हुने नियमित सेयर कारोबारमा १ प्रतिशत अतिरिक्त कर वा शुल्क लाग्ने व्यवस्था छैन। उनले हालसम्मको व्यवस्था अनुसार लगानीकर्ताले ब्रोकर कमिसन, सेबोन शुल्क, डीपी शुल्क र पूँजीगत लाभकर (CGT) मात्र तिर्नुपर्ने स्पष्ट पारे।
उनले १ प्रतिशत शुल्कको विषय अफ–मार्केट कारोबारसँग सम्बन्धित रहेको बताए। उनका अनुसार रु. २५ लाख वा सोभन्दा बढी मूल्यको सेयर कम्पनीमार्फत सिधै नामसारी हुने विशेष प्रकृतिका कारोबार—जस्तै बकसपत्र, मृत्युपछिको नामसारी वा ठूला आन्तरिक सेयर स्थानान्तरणमा मात्र उक्त शुल्क लागू हुन्छ।
ढकालले नियमित कारोबार गर्ने लगानीकर्ताले १ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्छ भन्ने धारणा गलत भएको उल्लेख गर्दै आधिकारिक जानकारीका आधारमा मात्र निष्कर्ष निकाल्न आग्रह गरेका छन्। उनले हल्लाको पछि नलागी संयमित भएर कारोबार गर्नसमेत सुझाव दिएका छन्।

































