काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ८ जनाले आवेदन दिएका छन्। आवेदन दिने अन्तिम म्यादसम्म ८ जनाको आवेदन परेको अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता अमृत लम्सालले जानकारी दिएका छन्।
सीईओ छनोटका लागि गठित सिफारिस समितिले अब आवेदकहरूले पेस गरेको व्यावसायिक कार्ययोजनाको मूल्याङ्कन गर्ने भएको छ। मूल्याङ्कन पूरा भएपछि आवेदकमध्येबाट सर्टलिस्ट तयार गरिनेछ।
लम्सालका अनुसार करिब १० देखि १५ दिनभित्र सर्टलिस्ट तयार गर्ने तयारी छ। सर्टलिस्टमा परेका उम्मेदवारले आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ। त्यसपछि अन्तर्वार्तामार्फत छनोट प्रक्रिया अघि बढाइनेछ।
व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तासहितको प्रक्रिया पूरा भएपछि नेप्सेले नयाँ प्रमुख कार्यकारी अधिकृत पाउनेछ।
यसअघि सिफारिस समितिले नेप्सेको सीईओ पदका लागि साउन १२ गतेदेखि २६ गतेसम्म आवेदन आह्वान गरेको थियो।































