काठमाडौं । कार्यालय नेपाल टेलिकमले आफ्नो ग्राहक सेवालाई थप परिष्कृत गर्नको लागि एआई जडित ‘मैना’ रोबोट सञ्चालनमा ल्याएको छ ।
टेलिकमले सुन्धारा स्थित टेलिकमको कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरी उक्त रोबटलाई प्रयोगमा ल्याएको जानकारी दिइएको हो ।
सोही कार्यक्रममा बोल्दै नेपाल टेलिकम सुन्धारा कार्यालयका प्रमुख दिनेश पन्थीले ‘मैना’ सञ्चालनमा आएपछि ग्राहक सेवा थप प्रभावकारी हुने बताए ।

सुन्धारा कार्यालयलाई टेलिकमको उदाहरणीय सेवा प्रवाह गर्ने कार्यालयको रूपमा स्थापित गर्न खोजिरहेको बताउँदै सोही अनुसार रोबट सञ्चालनमा ल्याइएको उनको भनाई छ । टेलिकमको सेवा प्रवाहमा थप परिष्कृत गर्दै सजिलो र प्रविधिमैत्री ढङ्गले सेवा दिनको ‘मैना’ रोबोटको अवधारणा ल्याइएको पन्थीले बताए ।
यस्तै प्रमुख पन्थीले सुन्धारा कार्यालयबाट बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म नै सेवा प्रवाह गरिरहेको समेत जानकारी दिए । सरकारी कम्पनी भन्नेवित्तिकै धेरैजसो नाक खुम्च्याउने परम्परालाई अन्त्य गर्दै सरकारी कार्यालयको परिभाषा नै परिवर्तन गर्ने गरी काम गर्न टेलिकम लागिपरेको उनको भनाई छ ।
उनले आगामी दिनमा नेपाल टेलिकमले दिने सम्पूर्ण सेवा सुविधाहरूको बारेमा मैनाबाटै सजिलो तरिकाले जानकारी लिन सक्ने गरी विकास गर्ने बताए ।

बलियो भेन्चरले निर्माण गरेको उक्त रोबटमा अहिले नै टेलिकमले दिने सेवासम्बन्धी ५ सय भन्दा बढी जिज्ञासाहरू मेटाउन सक्ने गरी निर्माण गरिएको प्रमुख पन्थीको भनाइ छ । यस्तै बलियो भन्चर प्रा.लि. का प्राविधिक विद्यानन्द झा ले ‘मैना’ रोबट अहिले प्रारम्भिक चरणमै रहेकोले यसमा सुधार्न पर्ने धेरै कुराहरू रहेको भन्दै आगामी दिनहरूमा यसलाई थप सेवा दिने गरी विकास गर्न सकिने बताए ।
यसैबीच टेलिकमले हरेक महिनामा उत्कृष्ट सेवा प्रवाह गर्ने कर्मचारीलाई सम्मान समेत गर्दै आएकोमा कार्तिक महिनाको उत्कृष्ट महिना कर्मचारी समेत घोषणा गरेको छ । गत वर्षको मङ्सिरबाट उत्कृष्ट महिना कर्मचारी घोषणा गर्दै आएको टेलिकमले कार्तिक महिनाको लागि कपिल लामिछानेलाई ‘इम्प्लोइ अफ द मन्थ’ घोषणा गरेको हो ।
नेपाल टेलिकमको सुन्धारा कार्यालयमा ग्राहक सेवामा काम गर्दै आएका लामीछानेलाई सम्मान पत्र सहित सम्मान समेत गरेको छ ।
































