काठमाडौँ। अमेरिका र इरानबीच केही सातादेखि चर्किएको सैन्य तनाव अब क्रमशः कम हुने संकेत देखिन थालेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो द्वन्द्व “केही साताभित्रै अन्त्य हुन सक्ने” बताउँदै अमेरिकी सेना चाँडै इरानबाट फिर्ता बोलाउने योजना रहेको जानकारी दिए। वाशिङ्टनको यस संकेतले विश्व राजनीति मात्र होइन, ऊर्जा बजार र कूटनीतिक सम्बन्धमा पनि नयाँ बहस सुरु गरेको छ।
अमेरिकी प्रशासनका अनुसार सैन्य अभियानले अपेक्षाभन्दा छिटो परिणाम दिएको दाबी गरिएको छ।
राष्ट्रपति ट्रम्पले यस अभियानको मुख्य उद्देश्य इरानलाई आणविक हतियार विकासबाट रोक्नु रहेको उल्लेख गर्दै सो लक्ष्य लगभग हासिल भइसकेको दाबी गरेका छन्। अब केही अन्तिम प्रक्रिया मात्र बाँकी रहेको भन्दै उनले दुईदेखि तीन हप्ताभित्र सैन्य गतिविधि टुंगिन सक्ने संकेत दिएका छन्। साथै, इरानसँग सम्भावित सम्झौताप्रति पनि उनले सकारात्मक दृष्टिकोण व्यक्त गरेका छन्।
यता इरानतर्फबाट पनि केही नरम संकेतहरू देखिएका छन्। इरानी राष्ट्रपति Masoud Pezeshkian ले आफ्नो देश लामो समयसम्म युद्ध जारी राख्ने पक्षमा नरहेको बताउँदै आवश्यक सुरक्षा सुनिश्चित भएमा द्वन्द्व अन्त्य गर्न तयार रहेको जनाएका छन्।
उनले भविष्यमा पुनः आक्रमण नहुने ग्यारेन्टी आवश्यक रहेकोमा जोड दिएका छन्। यद्यपि औपचारिक वार्ता सुरु नभए पनि दुवै पक्षबीच सन्देश आदानप्रदान भइरहेको बताइएको छ, जसले कूटनीतिक समाधानको सम्भावना बढाएको छ।
युद्ध अन्त्यतर्फ उन्मुख भएको संकेतसँगै विश्व बजारमा पनि यसको प्रभाव देखिन थालेको छ। ट्रम्पले सैन्य अभियान समाप्त भएपछि इन्धनको मूल्य घट्ने दाबी गरे पनि ऊर्जा क्षेत्रका विश्लेषकहरूले मूल्य घट्न समय लाग्न सक्ने बताएका छन्। पछिल्लो समय उच्च विन्दुमा पुगेको इन्धन मूल्यबीच युद्ध कम हुने संकेतले लगानीकर्तामा केही सकारात्मक असर देखिएको छ, जसको प्रभाव सेयर बजारमा समेत परेको छ।
त्यस्तै, ट्रम्पले स्ट्रेट अफ होर्मुजको सुरक्षाको जिम्मेवारी अन्य देशहरूलाई दिन सकिने संकेत दिएका छन्। यसले विश्व ऊर्जा आपूर्ति प्रणाली र शक्ति सन्तुलनबारे नयाँ बहस सिर्जना गरेको छ।


































