काठमाडौँ। अमेरिकाका जलसेना मन्त्री जोन फेलनले ट्रम्प प्रशासन छोड्ने भएका छन्। अमेरिकी रक्षा मन्त्रालयले बुधबार यसको घोषणा गरेको हो।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पेन्टागनका प्रवक्ता सन पार्नेलले फेलनको राजीनामा तत्काल लागू हुने बताएका हुन्। अब जलसेनाका उपमन्त्री हङ काओले कार्यवाहक मन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्नेछन्।
इरानसँग अमेरिका र इजरायलको युद्ध चलिरहेको र महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’मा अमेरिकाले नाकाबन्दी गरिरहेकै समयमा उनको राजीनामा आएको हो।
केही हप्ताअघि मात्र अमेरिकी रक्षामन्त्री पिट हेगसेथले सेना प्रमुख र्यान्डी जर्जलाई पदबाट राजीनामा दिन निर्देशन दिएका थिए। भने हालै अन्य दुई सैन्य अधिकारी जनरल डेभिड होड्ने र मेजर जनरल विलियम ग्रीनलाई पनि जिम्मेवारीबाट हटाइएको थियो।
पेन्टागनको नेतृत्व सम्हालेयता रक्षामन्त्री हेगसेथले जलसेना सञ्चालन प्रमुख र वायुसेनाका उपप्रमुखलगायत एक दर्जनभन्दा बढी वरिष्ठ सैन्य अधिकारीहरूलाई बर्खास्त गरिसकेका छन्।
कुनै सैन्य अनुभव नभएका गैर सैनिक फेलनलाई सन् २०२४ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले नौसेना मन्त्रीमा मनोनित गरेका थिए।
उनको स्थान लिन लागेका कार्यवाहक मन्त्री काओ भने जलसेनामा २५ वर्ष काम गरेका अनुभवी व्यक्ति हुन्। उनी अक्टोबर २०२५ मा उपमन्त्री बनेका थिए।
जलसेनाको नेतृत्व परिवर्तन यस्तो समयमा भएको छ जतिबेला राष्ट्रपति ट्रम्पले युद्धविरामको बीचमा पनि इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी जारी रहने बताएका छन्।
विश्वको अधिकांश तेल आपूर्ति हुने महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’मा झडपहरू जारी छन्। इरानले सोही जलमार्गमा दुईवटा जहाज ‘कब्जा’ गरेको घोषणा समेत गरेको छ।


































