काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी माघ महिनाभित्र काठमाडौं र पोखरामा फाइभजी परीक्षण सुरु हुने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती कार्यक्रममा बोल्दै उनले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन अन्तिम चरणमा पुगेको जानकारी दिए। उनका अनुसार फ्रेमवर्क चाँडै मन्त्रिपरिषद्बाट पारित भई कार्यान्वयनमा जानेछ।
मन्त्री गुरुङले पर्यटन, शिक्षा, सुशासन, विपद् व्यवस्थापनसहित आठ क्षेत्रलाई लक्षित गरी डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने सरकारको तयारी रहेको उल्लेख गरे।
“यो वर्षको माघभित्र काठमाडौं उपत्यका र पोखरा उपत्यकाबाट फाइभजी परीक्षण सुरु हुन्छ। यसले इन्टरनेट प्रयोगलाई सहज बनाउनका साथै एआई प्रविधिको विकास र प्रयोगमा मद्दत पुर्याउनेछ,” उनले भने।
उनका अनुसार सरकारको लक्ष्य आगामी वर्षभित्र देशभर फाइभजी विस्तार गर्ने रहेको छ। साथै सातै प्रदेशमा आइटी डाटा सेन्टर र एआई केन्द्र स्थापना गर्ने तयारी समेत भइरहेको उनले बताए।
कार्यक्रममा उनले हाल बढ्दै गएका बैंकिङ ठगीका घटनाबारे पनि ध्यानाकर्षण गराउँदै त्यसलाई नियन्त्रण गर्न आवश्यक कानुन निर्माण प्रक्रिया अघि बढाइरहेको जानकारी दिए।


































