काठमाडौं । सरकारले आजैदेखि लागुहुने गरेर मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ ।
प्रधानमन्त्रीले बिहान सिंहदरबारमा डाकेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
खाजाबापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब ६० हजार खर्च आउने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद बैठक हुने गरेका छन् ।
मन्त्रिपरिषद् बैठकमा सामान्य खाजा खुवाउन सुरु गरिएको छ । सुशासन र सुधारमा ससाना विषय पनि महत्वपूर्ण मानिने भएकाले प्रधानमन्त्री प्रचण्डले आफ्नै कार्यालयबाट सुधारको थालनी गरेको आचार्यले बताए । सुशासन र सुधारका कार्यलाई निरन्तर अगाडि बढाइने प्रधानमन्त्रीले बैठकमा बताए ।
आफ्नो कार्यकालको एक वर्ष पूरा भएको अवसरमा पुस १० गते देशवासीका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारको कार्यशैली बदल्ने घोषणा गरेका थिए ।
अहिले प्रधानमन्त्री प्रचण्ड सार्वजनिक बिदाका दिन बाहेक दैनिक १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगिरहेका छन् । प्रधानमन्त्री सिंहदरबारबाट दैनिक विभिन्न मन्त्रालयका ‘ब्रिफिङ’ लिने, राष्ट्रिय गौरवलगायत आयोजनामा देखिएका समस्या समाधानका लागि पहल लिँदै आएका छन् ।































