काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नयाँ मूल्य अनुसार पेट्रोलमा २ रुपैयाँ , डिजेल र मट्टितेलमा भने एक रुपैयाँले मूल्य वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ ।
वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । हवाई इन्धनको मूल्य भने घटेको छ ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १५६ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। डिजेल-मट्टीतेलको प्रतिलिटर १४० रूपैयाँ ५० पैसा पर्नेछ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १५८ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल-मट्टीतेलको प्रतिलिटर १४२ रूपैयाँ पर्नेछ। तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १५९ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल-मट्टीतेलको प्रतिलिटर १४३ रूपैयाँ पर्नेछ।


































