काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध सहकारी ठगीको आरोपमा दायर भएको मुद्दामा आज पनि थुनछेक बहस हुँदै छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासमा सोमबार थुनछेक बहस नसकिएपछि लामिछानेलाई हिरासतमै राख्ने आदेश दिइएको थियो। हिजो मंगलबार सार्वजनिक बिदा परेकाले बाँकी बहस आजका लागि तय भएको छ।
आजको सुनुवाइमा लामिछानेका वकिलहरूले बहस गर्ने क्रम जारी रहनेछ।
उनका तर्फबाट पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता सुशील कुमार पन्त र रमन श्रेष्ठले अदालतसमक्ष तर्क प्रस्तुत गर्नेछन्। लामिछाने माथि काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम दुरुपयोग गरेको आरोप लागेको छ।
यो प्रकरणमा उनीसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ।यसअघि, पुस २५ गते कास्की जिल्ला अदालतले लामिछानेलाई पोखराको सूर्य दर्शन सहकारी ठगीसम्बन्धी मुद्दामा ६५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो।


































