काठमाडौँ । भाटभटेनी सुपर स्टोरले साढे २२ करोड रुपैयाँ बराबरको उपहार दिने घोषणा गरेको छ। भाटभटेनीले आफ्ना सदस्य रहेका नियमित ग्राहकहरू मध्येबाट गिफ्ट भौचरमार्फत उक्त रकम बराबरको उपहार उपलब्ध गराउने घोषणा गरेको छ।
यस्तो उपहार प्राप्त गर्नेले आफूले पाएको गिफ्ट भौचर बराबरको सामग्री देशभरका २७ वटा भाटभटेनी स्टोर्स, जहाँबाट पनि किन्न सक्ने भाटभटेनीले जनाएको छ।
भाटभटेनीकाका अनुसार कम्तीमा १३ सय रुपैयाँदेखि २ लाख रुपैयाँसम्मको गिफ्ट भौचर सदस्यहरूलाई बाँडिने भएको छ।
भाटभटेनीका नियमित ग्राहकहरूमा गत वर्ष एक लाख ९ हजार ५२९ जना गिफ्ट पाउन योग्य बनेका छन्। भाटभटेनीले किनमेल गर्ने ग्राहकलाई मोबाइल नम्बरको आधारमा सदस्यता प्रदान गर्दै आएको छ। ग्राहकले निश्चित रकम बराबरको सामान किन्दा त्यसको आधारमा अंक (प्वाइन्ट) बन्छ। यिनै अंकको आधारमा उपहार योजना बनाइने व्यवस्था छ।
भाटभटेनीले आफ्ना ग्राहकका लागि बेला बेलामा विभिन्न सुविधा प्याकेज घोषणा गर्दै आएको छ। साथै, भाटभटेनी सुपर स्टोर्स बाहेक यसका अध्यक्ष मीनबहादुर गुरुङले सामाजिक सेवामा ठूलो योगदान दिँदै आएका छन्।


































