काठमाडौँ । यस वर्षको इन्द्रजात्रामा रथ तान्ने लगायत विभिन्न भूमिकामा संलग्न हुने व्यक्तिलाई दुर्घटना बीमा सुविधा उपलब्ध गराइने भएको छ । बीमाको दायरा एकदेखि पाँच लाख रुपैयाँसम्म रहनेछ ।
गुठी संस्थानले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा पर्वमा खटिने सहभागीलाई पहिलोपटक बीमा व्यवस्था गरिएको जानकारी दिइयो ।
देशका प्रमुख पर्वमध्ये पर्ने इन्द्रजात्रामा हनुमानढोका वरपरका मानन्धर समुदायसहित करिब ८०० जना सहभागी हुने गरेका छन् ।
भदौ ९ गते लिङ्गो काटेर सुरु भएको यस वर्षको इन्द्रजात्रा २६ गते राति १०:३० बजे इन्द्रध्वज पतनसँगै सम्पन्न हुनेछ । जात्रा सफल बनाउन गुठी संस्थानले सम्पूर्ण खर्च व्यवस्थापन, जनशक्ति परिचालन र विभिन्न निकायसँग समन्वय गरिरहेको छ । यसमा हनुमानढोका दरबार कार्यालय, काठमाडौं महानगर, नेपाली सेना, नेपाल विद्युत् प्राधिकरणलगायतका निकाय संलग्न छन् ।
कार्यक्रमअनुसार १५ गते लिङ्गोलाई हनुमानढोका पुर्याइएपछि १९ गते ध्वजापताका सहितको लिङ्गो उठाइ राजधानीमा इन्द्रजात्रा औपचारिक रूपमा सुरु हुन्छ । २१ गतेदेखि २६ गतेसम्म कुमारी, गणेश र भैरवको रथयात्रा गरिनेछ ।
जात्रा अवधिभर आकाश भैरवको पूजा, महाकाली, एरावत नाच, दशावतार नाटक प्रदर्शन, दहचोकमा मेला तथा स्वेतभैरवको मुखबाट बगाइने मदिरालाई प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहनेछ । साथै, इन्द्रचोक, किलागल र नरदेवीमा इन्द्रको मूर्ति प्रदर्शन गरिने र नेवार समुदायले पाहुनापासालाई परम्परागत ‘समय बजि’ खुवाउने चलन पनि रहन्छ ।
हनुमानढोकाको गद्दी बैठकमा पुगी राष्ट्रप्रमुखले जात्रा अवलोकन गर्ने परम्परा आन्तिम मल्ल राजा जयप्रकाश मल्लको पालादेखि निरन्तर चल्दै आएको हो ।


































