काठमाडौं । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले शुक्रबार राजधानीको तिनकुने क्षेत्रमा राजावादी समुहको नाममा आयोजना गरिएको प्रदर्शन हिंसात्मक बन्दा भएको जनधनको क्षति प्रति य दु:ख व्यक्त गरेको छ ।
शान्तिपूर्ण प्रदर्शनको हवला दिदै आन्दोलनकारीहरुले अराजक गतिविधि गर्दै हिंसात्मक अवस्था श्रृजना गरि एक युवा र एक श्रमजीवी पत्रकारको ज्यान जाने अवस्था उत्पन्न गराउने तथा संचार गृह, पार्टी कार्यालय, नागरिकका घर, ब्यवसायीक भवन,सवारी साधन लगाएतमा भएको तोडफोड, आगजनी तथा लुटपाटमा सम्लग्नहरुलाई तत्काल पक्राउ गरि कानुनी कार्वाहीको दायरामा ल्याउन पनि इम्सनले जोडदार माग गरेको छ ।
हिंसात्मक घट्नाका क्रममा किर्तिपुर निवासी एक युवकको ज्यान गएको छ भने एभिन्युज खबर टिभिका पत्रकार सुरेश रजकको ज्यान गएको छ । केही निजी निवासमा आगजनी र तोडफोड तथा लुटपाट भएको छ ।
”शान्तिपूर्ण आन्दोलनका नाममा निम्त्याईएको हिंसा र अराजकतालाई किमार्थ स्वीकार गर्न सकिन्न” इम्सन अध्यक्ष रामराजा श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
लोकतन्त्रमा आफ्ना असहमति शान्तिपूर्ण रुपले राख्न पाइने तर राजनीतिको रोटी सेक्ने नाममा हिंसा निम्त्याउने, नागरिकको ज्यान जाने अवस्था ल्याउने, निजी सम्पत्ति र ब्यापारिक प्रतिष्ठानमा आगजनी र लुटपाट गर्ने लगाएतका गतिविधि किमार्थ स्विकार्य नभएको उल्लेख छ ।
इम्सनले यस्ता गतिविधिमा सम्लग्नहरु माथी तत्काल छानविन गरी कडा भन्दा कडा कानुनी कार्वाहीको दायरामा ल्याई उद्योगी व्यवसायी लगायत आम जनमानसमा कानुनी राजको प्रत्याभूती दिलाउन अनुरोध गरेको छ।

































