काठमाडौं। अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणमा पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु भएको छ। मानव अधिकार समूहका अनुसार यस अवधिमा ८५ सर्वसाधारण र ११ जना सैनिक मारिएका छन्।
मानव अधिकार कार्यकर्ताहरूको समाचार एजेन्सी (एचआरएएनए)ले सोमबार इरानमा संयुक्त अमेरिका–इजरायल आक्रमणपछि पछिल्लो २४ घण्टामा कम्तीमा ८५ जना सर्वसाधारण र ११ जना सैनिक गरी ९६ जनाको मृत्यु भएको जनाएको छ ।
सार्वजनिक गरिएको विवरणअनुसार फेब्रुअरी २८ देखि जारी आक्रमणमा हालसम्म कम्तीमा ७४२ जना सर्वसाधारणको मृत्यु भएको जनाइएको छ।
घटनास्थलमा विभिन्न स्थान र पूर्वाधारलाई लक्षित गरिएको थियो। आक्रमणमा केही सैन्य अड्डा, दुई आवासीय क्षेत्र र बन्दर अब्बासस्थित शाहिद बहोनार पियर समावेश रहेको मानव अधिकार समूहले जनाएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले यी तथ्यांकहरू स्वतन्त्र रूपमा पुष्टि गर्न भने नसकिएको समाचारमा उल्लेख गरेको छ ।


































