काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने एचएलआई लार्ज क्याप फण्ड का इकाई खरिदका लागि आज अन्तिम दिन रहेको छ।
यो योजना गत भदौ १५ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको थियो। सुरुवातीमा भदौ १८ गतेसम्म मात्र आवेदन दिने समय दिइएको भए पनि आवश्यक माग नपुगेपछि भदौ २९ गतेसम्म म्याद थप गरिएको थियो। तर, सो अवधिभित्र अपेक्षाभन्दा बढी आवेदन प्राप्त भएकाले भदौ २९ गते नपुग्दै इकाई बिक्री बन्द गर्न लागिएको योजना व्यवस्थापक हिमालयन इन्भेष्टमेन्ट बैंकरले जनाएको छ।
४० करोड इकाई निष्कासन गरिएको यस योजनामा ५० प्रतिशत अर्थात् २० करोड इकाई कोष प्रवद्र्धक हिमालयन लाइफ इन्स्योरेन्सले बीज पूँजीका रुपमा राखेको छ भने बाँकी २० करोड इकाई सर्वसाधारणका लागि निष्कासन गरिएको हो।
लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम ४ करोड इकाईसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था (आस्वा सदस्य) का सम्पूर्ण शाखाबाट दिन सकिनेछ।
यस योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले लिएको छ।


































