काठमाडौँ । एनआईसी एशिया बैंक आज आफ्नो स्थापनाको २८औँ वर्ष पूरा गरेको छ । २०५४ जेठ १७ गते स्थापना भएको बैंकले २०५५ साउन ५ गतेबाट सेवा प्रदान गर्न थालेको थियो ।
बैंकले यो अवसरमा आफ्ना ग्राहक, नियामक निकाय, शेयरधनी, कर्मचारी तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रविधिमैत्री, नवीन र उच्चस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
“बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने नारासहित अगाडि बढेको बैंकले डिजिटल फस्ट बैंक बन्ने लक्ष्यलाई प्राथमिकतामा राख्दै सेवा विस्तार गरिरहेको जानकारी दिएको छ।
हालसम्म बैंकले मुलुकभर ३६० शाखा, ६७० एटिएम, ११६ विस्तारित काउन्टर र ४२ शाखारहित सेवा केन्द्रमार्फत लाखौं ग्राहकसँग पहुँच बनाएको छ। विशेष गरी मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता दुर्गम जिल्लाहरूमा पनि शाखा विस्तार गर्दै वित्तीय समावेशीकरणमा योगदान पुर्याइएको बैंकको दाबी छ।
बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हाम्रो सफलताको मूल श्रेय ग्राहकवर्ग र सरोकारवालाको साथ र विश्वासलाई जान्छ। आगामी दिनहरूमा अझ उत्कृष्ट सेवा प्रदान गर्दै सबैको पहिलो रोजाइको बैंक बन्ने हाम्रो लक्ष्य छ ।”


































