काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनको निर्वाचन कार्यतालिका प्रकाशित भएको छ ।
निर्वाचन समितिले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जसअनुसार मनोनय दर्ता पहिलो दिन २० गते नै तोकिएको छ ।
संघको एकता महाधिवेशन काठमाडौँमा आगामी वैशाख २० देखि २२ गते (२०२५ मे ३ देखि ५) सम्म हुँदैछ ।
१२ गते शुक्रबार मतदाताको प्रथम नामावली प्रकाशन गर्ने, १५ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने र वैशाख २० गते उम्मेदवारको मनोनयन गर्ने तालिका तय भएको निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशन अन्नर्गत वैशाख २१ गते (४ मे) बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको तालिका रहेको छ ।
निर्वाचन समितिका अनुसार एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को २०२५(२७ कार्यकालको लागि एक जना अध्यक्ष, छ जना उपाध्यक्ष (खुला), एक जना उपाध्यक्ष (महिला), एक जना महासचिव सहित ३६ जना पदाधिकारीहरू चयन गर्न निर्वाचन हुन लागेको हो ।
उच्चस्तरीय समितिद्वारा प्रमाणीकरण भएका प्रतिनिधि (डेलिगेट)ले तोकिएको मनोनयन दस्तुर बुझाएर उम्मेदवारी मनोनयन गर्नु पर्नेछ ।
निर्वाचन समितिले एकता महाधिवेशनको मर्म अनुरूप स्वतन्त्र निष्पक्ष र पारदर्शी निर्वाचन गराउन सहयोग गर्न सबै पक्षलाई आग्रह पनि गरेको छ ।
सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनएको एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको हो ।
वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे प्रमुख निर्वाचन आयुक्त रहेको समितिमा सेवानिवृत्त मेजर डमर घले तथा अधिवक्ता आशिष उप्रेती सदस्य रहेका छन् ।


































