काठमाडौँ। मौद्रिक नीति सार्वजनिक भएको छ । पहिलो सातामै सेयर बजारमा उछाल आएको छ । लामो समयसम्म पर्ख र हेरको अवस्थामा रहेको शेयर बजारले मौद्रिक नीति सार्वजनिक भएको हप्ता दिन नपुग्दै ‘नेप्से’ १३८.८३ अंकले बढेको छ।
उक्त अवधिमा कुल ५७ अर्ब ६९ करोड २४ लाख रुपैयाँ बराबरका सेयर कारोबार भएको छ । सेयर बजारमा एकाएक देखिएको उछलको कारण उदार मौद्रिक नीति भएको बजार विश्लेषकहरूको भनाई छ । गत आर्थिक वर्ष २०८१/८२ को अन्तिम साता आइतबारका दिन (असार २९ गते) २७३१.८० विन्दुबाट बढ्न सुरु गरेको शेयर बजार साताको अन्तिम कारोबारका दिन अर्थात् आर्थिक वर्ष २०८२/८३ को पहिलो कारोबारका दिन साउन १ गते २८७०.७८ विन्दुमा कायम भएको छ।
आइतबार बजार २९ अंकले बढेर २७६०.८९ अंकमा पुगेर बन्द भएको थियो। त्यसदिन ३११ कम्पनीका ३ करोड २५ लाख कित्ता शेयर १ लाख ५ हजार पटक खरिद बिक्री हुँदा ११ अर्ब १९ करोड रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, साताको दोस्रो कारोबारका दिन शेयर बजारमा सामान्य करेक्सन आउँदै २७६०.८९ अंकमा ओर्लिएको थियो । उक्त दिन बजारमा ३५ अंकको गिरावट आएको थियो । सोमबारका दिन ३२१ कम्पनीका ७ अर्ब २९ करोड रुपैयाँ बराबरका २ करोड ११ लाख कित्ता सेयर किनबेच भएका थियो। साथै, सोमबार देखिएको गिरावटलाई चिर्दै अर्को दिन अर्थात् मङ्गलवार शेयर बजार परिसूचक (नेप्से) ३४.४६ अंकले बढेर २७६०.१७ अंकमा पुगेको थियो।
उक्त दिन ३१७ कम्पनीका २ करोड ६५ लाख कित्ता सेयर कारोबार भएको थियो। त्यसदिन कारोबार रकम ९ अर्ब ४१ करोड रुपैयाँ थियो । साथै, साताको चौथो कारोबारका दिन बुधवार ३४.६१ अंकले बढेको नेप्से साताको अन्तिम दिन बिहीबार उछाल आएको हो। बिहीबार नेप्से ७५.८४ अंकले बढ्दा १६ अर्ब ५९ करोड रुपैयाँ बराबरका सेयर कारोबार भएको छ ।
एक सातामै १३८ अंकले किन बढ्यो बजार
शेयर बजारमा उछाल आउनुको मुख्य कारण नै लचिलो मौद्रिक नीति सार्वजनिक हुन रहेको जानकारहरूको धारणा छ। असार अन्तिम साता आर्थिक वर्ष २०८२/८३ मौद्रिक नीतिमा गभर्नर डा.विश्वनाथ पौडेलले देशको आन्तरिक श्रोत व्यवस्थापनमा कठिनाइमा भइरहेको समस्यालाई ध्यानमा राखेर लचिलो र बजारमुखी मौद्रिक नीति सार्वजनिक गरेको कारण शेयर बजारमा एक सातामै फराकिलो अंकको बढोत्तरी आएको लगानीकर्ता तथा विश्लेषकहरूको धारणा छ।
शेयर बजारप्रति नरम गभर्नर र उदार अर्थमन्त्रीका कारण चालु आर्थिक वर्ष शेयर बजारमा सकारात्मक प्रभाव पर्ने लगानीकर्ताहरूको विश्वास छ । मौद्रिक नीतिमार्फत सेयर धितोको कर्जा सीमा १० करोड रुपैयाँले बढाइएको थियो । बैंकहरूले दिने व्यक्तिगत सेयर धितोको कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड रुपैयाँ कायम गरिएको हो ।
लगानीकर्ताकै धेरैजसो मागको सम्बोधन भएको कारण मौद्रिक नीतिपछि शेयर बजार बढ्न मद्दत मिलेको विश्लेषकहरूको धारणा छ। अर्कोतर्फ, बैंकहरूले हकप्रद सेयर जारी गरेर समेत पुँजी वृद्धि गर्न पाउने व्यवस्था भएपछि शेयर बजारमा यसको प्रभाव परेको देखिएको छ। यस अलावा, राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई हाल लाग्दै आएको लाभांश सीमामा पुनरावलोकन गर्ने भएपछि बजारमा यसको सकारात्मक प्रभाव परेको विश्लेषण गरिएको छ ।


































