काठमाडौं । गत शुक्रवार नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ। सुनको मूल्य प्रति तोला २ लाख ६ सय पुगेको यो नै पहिलो रेकर्ड हो। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि त्यसको प्रभाव नेपाली सुनचाँदी व्यापारमा पनि देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य बुद्धि हुँदै जाँदा यसले थुप्रै कारण देखिन्छन्।
विश्वभर चलिरहेको भू–राजनीतिक अस्थिरता, युद्ध, व्यापारिक विवाद र राजनीतिक तनावको कारण सुनको मूल्यमा अचानक वृद्धि आएको हो । यसलाई पनि एउटा प्रमुख कारण मान्न सकिन्छ । त्यस्तै, अनिश्चितताको समयमा, लगानीकर्ताहरू सुरक्षित लगानीको खोजीमा हुन्छन्। सेयर बजार वा अन्य जोखिमपूर्ण लगानीको तुलनामा, सुनलाई ’सुरक्षित लगानी’ मान्ने भएको कारण पनि लगानी सुनको थुप्रिन जाँदा मूल्य बढ्न जान्छ। जब विश्वमा तनाव बढ्छ, लगानीकर्ताहरू आफ्नो पैसा जोखिमबाट बचाउन सुनमा लगानी गर्न थाल्छन्। यसले गर्दा सुनको माग बढ्छ र फलस्वरूप, यसको भाउ बढ्न जान्छ यसकारण समग्रमा भू–राजनीतिक अस्थिरता एउटा विशेष कारण मान्न सकिन्छ ।
अर्को भनेको विश्वका धेरैजसो ठूला अर्थतन्त्रहरूमा बढ्दो मुद्रास्फीतिले मानिसहरूको क्रयशक्ति घटाइरहेको छ। जब पैसाको मूल्य घट्छ, मानिसहरू आफ्नो सम्पत्तिलाई मुद्रास्फीतिको नकारात्मक प्रभावबाट जोगाउन सुन जस्ता ठोस वस्तुहरूमा लगानी गर्छन्। साथै, अमेरिकी डलरजस्ता प्रमुख मुद्राहरू कमजोर हुँदा पनि सुनको मूल्यमा वृद्धि हुन्छ। यसलाई अझ स्पष्ट रुपमा मुद्रास्फीति र कमजोर मुद्राका कारण पनि सुनको मूल्यमा वृद्धि भएको मान्न सकिन्छ ।
अर्को खास र विशेष कारण भनेको हालसालै, धेरै देशका केन्द्रीय बैंकहरूले ठूलो मात्रामा सुन खरिद गरिरहेका छन्। उनीहरू आफ्नो विदेशी मुद्रा भण्डारमा विविधता ल्याउन र आर्थिक अस्थिरताको जोखिम कम गर्न यस्तो गर्दै छन् । केन्द्रीय बैंकहरूद्वारा हुने यो ठूलो परिमाणको खरिदले पनि विश्व बजारमा सुनको समग्र माग बढाएको छ, जसले गर्दा यसको मूल्यमा दबाब परेको छ। अर्थात केन्द्रीय बैंकहरूको सुन खरिदका कारण स्वाभाविक बजारमा सुनको मूल्यमा वृद्धि हुन आउँछ ।
यहाँले भनेझैँ डिजिटल मुद्रा र अन्य आधुनिक लगानीका विकल्पहरू आए पनि सुनप्रति लगानीकर्ताहरूको विश्वास अझै कायम छ। यसबाहेक, एक्सचेन्ज ट्रेडेड फन्ड जस्ता वित्तीय साधनहरूको माध्यमबाट सुनमा लगानी गर्न सजिलो भएको छ, जसले गर्दा खुद्रा लगानीकर्ताहरू पनि आकर्षित भएका छन्। जसले गर्दा यसको बजारमा थप सक्रियता आएको छ।
सुनको मूल्य बढ्नुको पछाडि थुप्रै जटिल कारकहरू छन्। भू–राजनीतिक तनाव, मुद्रास्फीति, केन्द्रीय बैंकहरूको खरिद, सीमित आपूर्ति र लगानीकर्ताहरूको बढ्दो विश्वास जस्ता कारणहरूले सुनको भाउलाई ऐतिहासिक उचाइमा पु¥याएका छन्। यसको प्रभाव नेपाली बजारमा परेको छ । त्यसकारण तत्काल सुनको मूल्यमा गिरावट आउने कुनै आधार देखिदैन् । साथै, सुनको मूल्य यति पुग्छ भन्ने आधार त छैन् तर यसको घट्ने ठाँउ छैन् ।
मूल्य बढ्नु ग्राहकलाई मात्रै हैन व्यवसायीहरूलाई पनि गाह्रो हो , अहिले देशभरका सुनचाँदीको पसलहरू हेर्नुस् सुनचाँदी कारोबार गर्ने मान्छे नै छैनन् । पसलमा देखिने पनि किन्ने भन्दा भएको बेच्न चाहानेहरु हुन् । यसकारण सुनको मूल्य बढ्नुको सबै कारण अन्तर्राष्ट्रिय कारण हुन् । त्यसमा हाम्रो सरकारले घिउ थप्ने काम गरेको विषयमा त यहाँहरू जानकार नै हुनुहुन्छ । सुन एउटा दुर्लभ धातु हो र यसको आपूर्ति सीमित छ । नयाँ सुन खानीहरू पत्ता लाग्न पनि कम भएको छ र खानीबाट सुन निकाल्ने प्रक्रिया पनि जटिल र महँगो हुँदै गएको छ ।


































