काठमाडौँ। कार्यालय समयमा मदिरा सेवन गर्नु अनुशासनविपरीत र अमर्यादित व्यवहार मानिन्छ र यसले जागिर गुम्ने अवस्थासम्म निम्त्याउन सक्छ। तर स्पेनमा भने यस्तो घटनामा अदालतले उल्टै कामदारकै पक्षमा निर्णय गरेको छ र करिब ८० लाख नेपाली रुपैयाँ बराबरको क्षतिपूर्ति समेत दिन आदेश दिएको छ।
विद्युत कम्पनीमा कार्यरत एक कर्मचारीले कार्यस्थलमा असामान्य व्यवहार देखाएपछि व्यवस्थापन शंकित भएको थियो। त्यसपछि कम्पनीले उनको गतिविधि निगरानी गर्न एक व्यक्तिलाई खटायो।
एक रिपोर्ट अनुसार उनले एक दिन दिउँसोको विश्राम समयमा झन्डै तीन लिटर बियर पिएका थिए। कामको समयमा मदिरा सेवन गर्नु गम्भीर गल्ती मानिए पनि ती कर्मचारी कम्पनीको सवारी साधन चलाउने जिम्मेवारीमा समेत थिए, जसले दुर्घटनाको जोखिम बढाउने देखिन्थ्यो।
यसै कारण कम्पनीले उनलाई बर्खास्त गर्ने निर्णय गर्यो। तर उनले आफूलाई अन्यायपूर्वक हटाइएको भन्दै अदालतको शरण लिए।
मर्सियाको उच्च अदालतले भने कम्पनीको निर्णयलाई अत्यधिक कडा ठहर गर्दै बर्खास्तीलाई अवैध घोषणा गर्यो। अदालतले कर्मचारीको गल्ती स्वीकारे पनि त्यसअनुसारको सजाय अनुपयुक्त भएको निष्कर्ष निकाल्दै कम्पनीलाई दुई विकल्प दिएको छ—उनलाई पुनः जागिरमा राख्ने वा ४७ हजार युरो क्षतिपूर्ति दिने।
अदालतको निर्णयमा दिउँसोको विश्राम समयलाई औपचारिक कार्यसमय नमानिने पक्षलाई महत्वपूर्ण आधार बनाइएको छ। त्यसैले उक्त समयमा गरिएको मदिरा सेवनलाई कार्यसम्बन्धी अनुशासन उल्लंघनका रूपमा लिन नमिल्ने बताइएको छ। साथै, उक्त कर्मचारीको काममा असर परेको वा सवारी चलाउँदा जोखिम सिर्जना भएको प्रमाण कम्पनीले पेश गर्न सकेन।
स्पेनको कानुनअनुसार पनि कहिलेकाहीँ हुने मदिरा सेवनका आधारमा मात्र कसैलाई जागिरबाट हटाउन नमिल्ने व्यवस्था छ। नियमित लत भएको प्रमाणित हुनुपर्नेमा, केही पटकको सेवनलाई मात्र आधार बनाएर कडा कारबाही गर्नु उपयुक्त नहुने अदालतको निष्कर्ष रहेको छ।


































