काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आवको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।
बैंकले यो अवधिसम्म २ अर्ब ११ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने बैंकले ४६ लाख ८ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा बैंकले २ अर्ब ६७ करोड रुपैयाँबराबरको खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ । अघिल्लो आवमा भने बैंकले २ अर्ब ९ करोड रुपैयाँबराबरको खुद शुल्क तथा कमिशन आम्दानी गरेको थियो । यस अवधिसम्म बैंकको खुद सञ्चालन आम्दानी ११ अर्ब ३३ करोड र सञ्चालन मुनाफा ६ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।
अघिल्लो आवमा ६ अर्ब ८४ करोड रुपैयाँ रहेको बैंकको इम्पेयरमेन्ट चार्ज घटेर २ अर्ब ७६ करोड रुपैयाँ हुन पुगेको छ । रिटेन्ड अर्निङ २ अर्ब ७९ करोड रुपैयाँले ऋणात्मक रहेको बैंकको रिजर्भमा भने १३ अर्ब ८५ करोड रुपैयाँ सञ्चित रहेको छ ।
समिक्षा अवधिमा बैंकले ग्राहकहरुबाट ३ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ६० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यस अवधिमा बैंकको खराब कर्जा अनुपात ६.४२ प्रतिशत पुगेको छ । यस्तै बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७९ करोड रुपैयाँले ऋणात्मक छ ।
यस अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ८.०७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४२.१९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४२.१९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २७.२३ गुणा र तरलता अनुपात ३६.५९ प्रतिशत रहेको छ ।

































