काठमाडौं । कुलेखानी–हुमाने–कलंकी सडक आजदेखि १९ दिन बन्द हुने भएको छ । प्रहरी प्रधान कार्यालयले काठमाडौं–हेटौंडा चल्ने सडकमध्ये कुलेखानी–कलंकी–हुमाने सडक आज शुक्रबारदेखि मर्मतका लागि १९ दिन बन्द हुने जनाउँदै वैकल्किप मार्ग प्रयोग गर्न सबै चालकमा अनुरोध गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्थानीय प्रशासन कार्यालयबीचको समन्वयमा सडक आजदेखि बन्द हुन लागेको जानकारी प्राप्त भएकाले सर्वसाधारण नागरिकलाई अप्ठेरो नहोस् भनेर उक्त जानकारी गराइएको बताए । सडकको मकवानपुर, इन्द्रसरोवर गाउँपालिकास्थित खण्ड कालोपत्र गर्ने कामका लाग जेठ २ देखि २० गतेसम्म (१९ दिन) सवारी आवागमन पूर्ण रूपमा बन्द हुने सार्वजनिक सूचनामा उल्लेख छ ।
प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, ‘नेपाल प्रहरी हेटौंडा–काठमाडौं वा काठमाडौं–हेटौंडा यात्रा गर्नुपर्ने सवारीसाधनले अन्य वैैकल्पिक सडक (कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ) सडक प्रयोग गरी आवागमन गर्नु–गराउनु हुनसमेत सम्बन्धित सबैलाई जानकारी गराउँदछ ।’ स्थानीय प्रशासन तथा स्थानीय तहबीचको समन्वयमा सवारीसाधन बन्द गरेरै उक्त सडक निर्माण गर्न लागिएको जनाइएको छ ।

































