काठमाडौँ । कुवेतमा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाएका नेपालीहरूको शव स्वदेश ल्याउने काम सुरु भएको छ। हालसम्म पाँचजनाको शव नेपाल ल्याइसकिएको छ भने अन्यको पनि शव पठाउने प्रक्रिया जारी रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।
करिब दुई हप्ता अघि अवैध रक्सी सेवनका कारण २३ जनाको मृत्यु भएको थियो । तिनीहरूमध्ये कम्तीमा १२ जना नेपाली रहेको दूतावासले पुष्टि गरेको छ।
१६० भन्दा बढी व्यक्ति विरामी परेका थिए। तीमध्ये १३ जना नेपाली अझै गम्भीर अवस्थामा अस्पतालमा छन्। धेरैजसोको भेन्टिलेटर र आईसीयूमा उपचार भइरहेको छ।
उपचारपछि केही नेपालीलाई आवश्यक अनुसन्धानसहित नेपाल डिपोर्ट गरिएको एनआरएन महासचिव विजय धामीले बताएका छन्। बाँकी बिरामीहरूलाई पनि निको भएपछि डिपोर्ट गरिने तयारी कुवेती अधिकारीले गरेका छन्।
कुवेती प्रहरीले अवैध मदिरा उत्पादनमा संलग्न २ नेपालीसहित ४ जनालाई पक्राउ गरेको छ। उनीहरूविरुद्ध २३ जनाको ज्यान जाने आपराधिक अनुसन्धान भइरहेको छ। पछिल्लो सुरक्षा कारबाहीमा ६७ जनालाई मेथानोल उत्पादनमा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ।
मृत्युको मुख्य कारण ‘मेथानोल’ नामक विषालु रसायन मिसिएको रक्सी भएको पुष्टि कुवेती स्वास्थ्य मन्त्रालयले गरेको छ।
यस घटनाले कुवेतमा मदिराको प्रतिबन्ध खोल्ने विषयमा बहस चर्किएको छ। समर्थकहरू कानुनी बिक्रीले अवैध उत्पादन घटाउने तर्क गर्दै छन् भने विरोधीहरूले इस्लामिक मुलुकमा यस्तो निर्णय अस्वीकार्य हुने बताइरहेका छन्।


































