काठमाडौँ। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.६१ प्रतिशतले घटेको हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाको खुद नाफा ४ करोड ३१ लाख रुपैयाँ रहेको थियो ।
यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने वृद्धि भएको छ । चालु आवको दोस्रो त्रैमाससम्म खुद ब्याज आम्दानी २० करोड २८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको तुलनामा १६.५४ प्रतिशतले बढी हो । संस्थाको कुल सञ्चालन आम्दानी २१ करोड ८९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४ करोड ८० लाख रुपैयाँ कायम भएको छ ।
यद्यपि, सञ्चालन खर्चमा पनि वृद्धि देखिएको छ। अघिल्लो आवमा १६ करोड ४९ लाख रुपैयाँ रहेको सञ्चालन खर्च समीक्षा अवधिमा बढेर १७ करोड ८ लाख रुपैयाँ पुगेको छ ।
संस्थाले रिटेन्ड अर्निङ बढाउन सफल भए पनि रिजर्भको आकार भने घटेको छ । रिटेन्ड अर्निङ ११ करोड ३३ लाख रुपैयाँबाट बढेर १६ करोड ८६ लाख रुपैयाँ पुगेको छ भने रिजर्भ ३५ करोड ८६ लाख रुपैयाँबाट घटेर २८ करोड ८ लाख रुपैयाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा संस्थाले २ अर्ब ८२ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह ६ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । यस अवधिका लागि संस्थाले इम्पेयरमेन्ट चार्ज शीर्षकमा १ करोड ९१ लाख रुपैयाँ छुट्याएको छ ।
यस अवधिमा संस्थाको खराब कर्जा अनुपातमा उल्लेखनीय वृद्धि देखिएको छ । खराब कर्जा अनुपात अघिल्लो आवको ४.३५ प्रतिशतबाट बढेर १८.४८ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा २ करोड ८८ लाख रुपैयाँ रहेको छ । साथै, प्रतिसेयर आम्दानी (ईपीएस) २७.९९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २६८.७२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २,७२९.६७ रुपैयाँ र तरलता अनुपात १२.४६ प्रतिशत कायम रहेको वित्तीय विवरणमा उल्लेख छ ।


































