काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत खोटाङबाट श्रम संस्कृति पार्टीले ऐतिहासिक सफलता हात पारेको छ। उक्त पार्टीका उम्मेदवार आरेन राई विजयी भएसँगै श्रम संस्कृति पार्टीले पहिलोपटक प्रतिनिधिसभामा आफ्नो खाता खोलेको हो।
निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार आरेन राईले १६ हजार ६१२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनले प्रमुख प्रतिस्पर्धी दलका उम्मेदवारलाई पछि पार्दै उल्लेखनीय जित दर्ता गरेका छन्।
यस निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार देवबिक्रम राईले १२ हजार ७१४ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित भएका छन्। त्यस्तै नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुद्र गिरीले ५ हजार ७०४ मत प्राप्त गरेका छन्।
आरेन राईको जितसँगै श्रम संस्कृति पार्टीले राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थिति दर्ज गराएको विश्लेषण गरिएको छ। लामो समयदेखि ठूला दलको प्रभावमा रहेको खोटाङमा नयाँ राजनीतिक शक्तिले जित हासिल गर्नु स्थानीय राजनीतिक समीकरणका लागि पनि महत्वपूर्ण मानिएको छ।


































