काठमाडौं । राष्ट्र बैंकका गभर्नर नियुक्तिको लागि तय गरिएको योग्यता विवादबारे आज सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ। सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि उमेरहद नातोकिने गरी मापदण्डमा गरेपछि सो विरुद्द दायर भएको रिटमा आज मंगलवार सुनुवाई हुन लागेको हो ।
उक्त मुद्दाको पेशी न्यायधीश नित्यानन्द पाण्डेयको इजलाशमा तोकिएको छ। सो इजलाशको ७ औं नम्बरमा यस मुद्दाको पेशी रहेको छ।
मापदण्डको दफा ३ (ग) हटाएर नेपाल सरकारले गभर्नर नियुक्तिमा उमेरको योग्यताको प्रावधान हटाइएको थियो ।कार्यकारी प्रमुखका हकमा ३० वर्ष र कार्यकारी प्रमुख बाहेक अन्य पदाधिकारी र सदस्यका हकमा ३५ वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनु पर्ने व्यवस्था रहेकोमा उक्त उमेदहद हटाइएको थियो।
यस विरुद्द गत आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो। अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। रिटमा संशोधित मापदण्ड कार्यान्वयन नगर्न र पुरानै मापदण्ड अनुसार गभर्नर नियुक्तिको गर्नको लागि सरकारकोमा परमादेश दिन माग गरीएको छ ।
































