काठमाडौँ । १००० रुपैयाँ दरका ४३ करोड थान नेपाली नोट चीनमा छापिने भएका छन्। उक्त नोट छपाइको जिम्मा चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले पाएको छ।
राष्ट्र बैंकका अनुसार कम्पनीले १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलरमा नोटको डिजाइन, छपाइ, आपूर्ति र डेलिभरी गर्नेछ। बैंकले तोकेको सर्त अनुसार चिनियाँ कम्पनीले पेश गरेको आर्थिक प्रस्ताव सबैभन्दा न्यून भएकाले सो कम्पनीलाई ठेक्का दिने निर्णय गरिएको हो।
यसअघि पनि सोही कम्पनीले ५ रुपैयाँका ३५ करोड थान, १० रुपैयाँका ३४ करोड थान, ५० रुपैयाँका ४२ करोड थान, १०० रुपैयाँका ३० करोड थान र ५०० रुपैयाँका २३ करोड थान नोट छाप्ने जिम्मा पाइसकेको थियो।
राष्ट्र बैंकले नोट छपाइका लागि पूर्व–योग्यता प्राप्त कम्पनीहरूलाई गोप्य बोलपत्र आह्वान गरेको थियो। ती कम्पनीहरूमा चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन, बेलायतको डे ला रुई इन्टरनेसनल लिमिटेड, जर्मनीको जिसेकी प्लस डेभ्रिएन्ट करेन्सी टेक्नोलोजी, रुसको गोज्नाक (Joint Stock Company Goznak), फ्रान्सको अवेर्थर फिडुसियर, र पोल्याण्डको पोलीस सेक्युरिटी प्रिन्टिङ वर्क्स रहेका थिए।


































