काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवानाको पत्र बुझाउन निर्मल निवास गएका काठमाडौँ महानगरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाट फिर्ता पठाइएको छ ।
पत्र बुझाउन निर्मल निवास पुगेका काठमाडौँ महानगर टोलीलाई पत्रको विषयमा कुराकानी हुन नपाउँदै फिर्ता पठाइएको हो । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले शनिवार कार्यालय समय खुलेपछि निर्मल निवासमै पुगेर पत्र बुझाउने तयारी रहेको जनाएका थिए । तर उनै पाण्डेको फोन उठिरहेको छैन ।
नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीका अनुसार निर्मल निवासले पत्र बुझ्न नमानेको र अब हुलाक मार्फत भए पनि पत्र पठाउने जानकारी दिएका छन् । महानगरले विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र काट्दै शाहलाई ७ लाख ९३ हजार जरिबाना तोकेको छ। पूर्व राजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै महानगरले जरिवाना तोकेको हो ।
शुक्रवार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा क्षति पुगेको थियो । सोही आन्दोलनको क्रममा दुई जनाको ज्यान गएको थियो भने दर्जनौँ घाइते भएका थिए ।
































