काठमाडौं । संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमास मा ४९ अर्ब रुपैयाँ बढी कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार १४ वटा जीवन जीवन बीमा कम्पनीहरुले ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । जुन गत आवको यसै अवधिको तुलनामा १९.८४ प्रतिशतले बढी हो।
यस समीक्षा अवधिसम्ममा सबैभन्दा धेरै कुल बीमा शुल्क नेपाल लाइफले संकलन गरेको छ । कम्पनीले १३ अर्ब ४५ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा नेसनल लाइफ रहेको छ । कम्पनीले असोज मसान्तसम्ममा ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले ४ अर्ब ९८ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
यसगरी, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५३ करोड २२ लाख रुपैयाँ, हिमालयन लाइफले ४ अर्ब ४३ करोड ६१ लाख रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब ८८ करोड १० लाख रुपैयाँ, एशियन लाइफले २ अर्ब २६ करोड ९६ लाख रुपैयाँ र सिटिजन लाइफले २ अर्ब १७ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
साथै यस अवधिमा सानीमा रिलायन्स लाइफले १ अर्ब ८१ करोड ४० लाख रुपैयाँ, मेट लाइफले १ अर्ब ६६ करोड ४२ लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब ५१ करोड ५४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ४५ करोड ६६ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ४० करोड ६ लाख रुपैयाँ र सन नेपाल लाइफले ९५ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

































